विराटनगर / प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मान गरेको छ ।
प्रदेश सरकारले विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो । एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता ४ जना र एकल तर्फ कास्य पदक विजेता १० जना खेलाडी, टीम तर्फ स्वर्ण पदक विजेता १५ जना, टीम तर्फ रजत पदक विजेता २२ जना र टीम तर्फ कास्य पदक विजेता ४१ जना गरि ८८ खेलाडीलाई सम्मान गरेको हो ।
सम्मानित हुने खलाडीहरूका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मान गरे । खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले प्रदेश सरकारले खेलकुदलाई छायाँमा नपारिने बताए ।
सामाजिक विकास मन्त्री घिमिरेले खेलका माध्यमबाट जिविकासँगै पहिचान र प्रतिष्ठा कमाउन सकिने बताए । कोरोना भाईरसको संक्रमणका कारण निर्धारित समयमा सम्मान गर्न नपाएको बताए । ढिलै भएपनि प्रदेश सरकारले सम्मान गरेको र आगामी दिनमा पनि खेलाडी सम्मानलाई निरन्तरता दिईने उनले बताए ।
सागमा एकल र टीम तर्फ स्वर्ण पदक विजेतालाई १ लाख देखि ७५ हजार ५ सय सम्म, एकल र टीम तर्फ रजत विजेतालाई १ लाख देखि ६० हजार सम्म र एकल र टीम तर्फ कास्य पदक विजेतालाई ५० देखि ४१ हजार रुपैयाँ सम्म प्रदान गरिएको सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काले बताए । १० जना खेलाडीले दोहोरिएर पदक प्राप्त गरेको उनले बताए । उनका अनुसार खेलाडीको बैंक खातामा प्रदेश सरकारले ८० लाख रुपैयाँ जम्मा गरेको बताए ।
फोटो छ ।