धनकुटा/ साइबर अपराध गरेको आरोपमा धनकुटास्थित शहरी विकास तथा भवन निर्माण प्रदेश कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरसहित तीन कर्मचारीलाई सिआइबीको टोलीले बुधबार पक्राउ गरेको छ ।
काठमाडौंबाट आएको सिआइबीको टोलीले शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटर दिवाकर देउजा, सव––इञ्जिनियर अभिषेक आचार्य र कार्यालय सहयोगी प्रेम भूजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक गोविन्द अधिकारीले बताएका छन् ।
नेपाल टेलिकम केन्द्रीय कार्यालय काठमाडौंको उजुरीमा सिआइबीको टोलीले पक्राउ गरेका तीनमध्ये २ जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटाको निगरानीमा तारेखमा हाजिर हुने गरी छोडिएको छ भने अपरेटर देउजालाई काठमाडौं लगिएको प्रहरी प्रमुख अधिकारीले बताए ।
आवश्यक परेको बेलामा हाजिर हुने गरी तारेखमा छुटेकाहरूलाई नियन्त्रणमा लिइने जनाइएको छ । उनीहरूले नेपाल टेलिकमको एप्स चोरी गरी रकम ठगी गरेको आरोपमा पक्राउ गरिएको स्रोतको दाबी छ ।
पक्राउ परेकाहरूले कहिलेदेखि एप्स चालू गरे, कति मान्छेलाई ठगे, एप्स कहाँ–कहाँ प्रयोग भयो र पैसा कति उठाए अनुसन्धानपछि मात्र थाहा हुने स्रोतले जनाएको छ । स्रोतका अनुसार ई–सेवामार्फत् बत्तीको महसुल, पानीको महसुल, मनिट्रान्सफर जस्ता कारोबारमा प्रयोग भएको हुनसक्ने बताइएको छ ।