- मिकाइल आलम
भण्टाबारी । सीमा सिल हुँदा केही महिनायता सीमामा विगतको तुलनामा अधिक संख्यामा प्रहरी परिचालन गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका साथै संबेदनसिल मानिने सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्रहरीका उच्चपदस्थ सुरक्षा अधिकारीले आफ्नो निजी विशेष घुमुवा प्रहरी परिचालित गरेका छन् । विगत भन्दा अहिले सीमामा व्यापक प्रहरी परिचालित भएतापनि तस्करी हुने क्रम रोकिएको छैन । नेपाल भारतबीच रहेको खुला सीमाको फाइदा उठाउदै सुनसरीको दक्षिणवर्ती तर्फको विभिन्न नाका हुँदै दिनहुँ तस्करी हुँदै आएको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन् । तस्करी रोक्नु भन्दा तस्करहरुसँग बार्गेनिङ गर्न र कतिपय रुपैयाँ असुली गर्न सीमावर्ती क्षेत्रहरू छ्यापछ्याप्ती रूपमा विभिन्न ठाउँमा सिभिल प्रहरी भेटिने गरेको स्थानीयको आरोप छ ।
अपराधीक गतिविधि चोरी,हत्या, बलात्कार जस्ता संगठित अपराधमा संलग्न अपराधीहरुलाई नियन्त्रण गर्नका लागि विशेष परिस्थितिमा बिना वर्दीको प्रहरी सुराक दिनलाई प्रयोग गर्न सकिने व्यवस्था भएपनि ठीक विपरीत कार्यका लागि सीमा क्षेत्रमा सदा पोसाकका प्रहरी परिचालित भएको आरोप लगाइएको छ । गम्भीर प्रकृतिका अपराध गरी फरार भएका व्यक्तिलाई पक्राउ गर्न नसकेका सुरक्षाकर्मीले लकडाउनको समयमा समेत कमिसन लिएर भारतबाट विभिन्न सामान ल्याउन दिनगरेको नाम उल्लेख नगर्ने शर्तमा सिसुवा धर्मपुरका एकजनाले जानकारी दिए ।
सुनसरीको सिसुवा धर्मपुरमा अपराध नियन्त्रण गर्नका लागि परिचालन गरिएको प्रहरीहरु रकम लिएर तस्करी गराउने गरेको ति व्यक्तिको कथन छ । दैनिक, साप्ताहिक र मासिक रूपमा नजराना बुझाउने तस्करहरुलाई खुलेआम रूपमा सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले सामान ल्याउन दिने गरेको बताउदै ति व्यक्तिले समयमा रकम नबुझाउनेको भने सामान नियन्त्रणमा लिने गरेको बताए । कमिसन दिए भने अवस्था सामान्य बनाइदिने र दिएनन् भने सामान पक्राउ गरी भन्सार बुझाउने गरेको उनले बताए ।
प्रहरी चौकी अगाडिबाटै तस्करी
ब्लाष्टलाई प्राप्त एउटा भिडियोको हवाला दिदै प्रहरी चौकी सिसुवा धर्मपुर अगाडि बाटै दिनहुँ तस्करी हुने गरेको दाबी गरिएको छ । उक्त प्रहरी चौकीका असई गणेश यादवकै संरक्षणमा सोहि स्थानका प्रमोद मेहतालगायतका व्यक्तिले खुलेआम रूपमा तस्करी गराउदै आएको आरोप लगाइएको छ ।
यद्यपि यसबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा असई यादवले ‘के के कुरा गर्नुछ सबै भेटेरै गरौं’ भन्दै केही बोल्न चाहेनन् । उनी विगत तीनबर्षदेखि हरिनगर गाउपालिका भित्रकै एक प्रहरी चौकीबाट अर्को प्रहरी चौकीमा सरुवा हुदै बसेका छन् । दैनिक रूपमा लाखौं मूल्य बराबरको विभिन्न सामान भारतबाट साइकल र पैदलमार्गबाट सुरक्षाकर्मीकै संरक्षणमा ल्याउने गरिएको गुनासो आएको छ । पटकपटक सुनसरीको सीमावर्ती क्षेत्रहरुमा लकडाउनको समयमा तस्करी हुने गरिएको बारे समाचार प्रकाशित भएपनि यसलाई रोक्न तदारुकता देखाएको पाइदैन ।
सिमानामा खटिएका प्रहरीले के गर्दैछ् ?, के तिनीहरु तस्करी भएको हेर्दैनन्, हेरे भने तत्कालै किन समातिदैन ? दोषी को ? भन्ने खालका प्रश्न उठेको छ । अन्यथा भारतसँग सीमा जोडिएको सीमावर्ती क्षेत्रहरूबाट अवैध रूपमा हुँदै आएको तस्करी नियन्त्रणमा अहिले चासो र गम्भीर भएन भने राजस्व असुलीमा थप कमि आउने अनुमान गर्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालयका सुनसरीका एसपी कमल थापाकोमा प्रसनी यादवको सेटिङमा तस्करहरुले भारतीय सिमानाकाबाट भन्सार छली ल्याउदै गरेको अवस्थाको भिडियो समेत पठाएका छन् । उक्त भिडियोमा देखिएका दृष्यमा प्रसनी यादव भने देखिएका छैनन् । तर उनकै चौकी अगाडिको बाटो भएर साइकलमा बोराका बोरा अवैधरुपमा राजश्व छली गरेर सामान ल्याइरहेको दृष्य भएको श्रोतले बताएको छ ।
एसपी थापाले पनि प्रसनी यादव विरुद्ध जनगुनासो आफुकहा धेरै आएको प्रतिक्रिया दिए । उनले भने, ‘गुनासो आएको छ । मैले पनि के रहेछ भनेर बुझ्दै छु । त्यो बाटो भएर पहिले पनि तस्करहरुले भन्सार छली गर्दै आएका हुन् । ठूला तस्कर समुहले पनि असन्तोष व्यक्त गरेर घुमाउरो पारामा गुनासो सुनाउन पनि सक्ने भएकाले त्यतातिरमा पनि सचेत हुनु पर्ने अवस्था छ ।’