विराटनगर / कोभिड–१९ का कारणले तहस–नहस भएका विद्यार्थीहरूको पठन–पाठन सुचारु गर्न प्याब्सन नगरसमिति र एनप्याब्सन विराटनगरले माग राखेका छन् ।
उनीहरूले शुक्रबार संयुक्त ध्यानाकर्षण पत्र विराटनगर महानगरपालिकामा बुझाउँदै यस्तो माग राखेका हुन् ।
प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राई र एनप्याब्सन नगर संयोजक राजनकुमार छाराहाङद्वारा हस्ताक्षरित ध्यानाकर्षण–पत्रमा नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरूको अभिलेखीकरण गरी पाठ्यपुस्तकलगायत शिक्षण सामग्रीहरू व्यवस्थापन गर्ने वातावरण यथाशीध्र निर्माण गरिनुपर्ने उल्लेख छ ।
यस्तै क्वारेण्टिनका लागि प्रयोग भएका विराटनगर वडा १३ मा रहेको डिएभी विद्यालयबाट क्वारेण्टिन अर्को स्थानमा स्थानान्तरण गरी निर्मलीकरणको व्यवस्था गरिनुपर्ने, वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि १८०– १९० दिन पठन–पाठन गनुपर्ने हुँदा सोही अनुसार शैक्षिक सत्र २०७७ का लागि केही सार्वजनिक बिदाहरू कटौती गरी नयाँ शैक्षिक क्यालेण्डर निर्माण गर्नुपर्ने उल्लेख छ ।
यसैगरी शैक्षिक सत्र २०७७ मा विद्यालयहरूले शिक्षा नियमावली अनुसार तोकिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धताको आधारमा शुल्कहरू सङ्कलन गर्न पाउने व्यवस्था गरिनुपर्ने, निजी विद्यालयहरूले शैक्षिक सत्र २०७६ को बाँकी बक्यौता उठाउन नसकेको र शैक्षिक सत्र २०७७ सालको कुनै पनि शुल्क सङ्कलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अवस्थामा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरूलाई उचित सहयोगको व्यवस्था गरिनुपर्ने र घर जग्गा वहालकर, व्यावसायिक कर लगायत अन्य महसुलहरूमा छुटको व्यवस्था महानगरपालिकाले गरिदिनुपर्ने ध्यानाकर्षण–पत्रमा उल्लेख छ ।