भण्टाबारी/ घटना १ः २०७७ साल साउन २ गते शुक्रबार समय अन्दाजी रातको ९ बजेको थियो । सशस्त्र प्रहरी बल बिओपी घुस्कीबाट सीमा सुरक्षार्थ खटिएका दुई जना सशस्त्र प्रहरी सीमामा तैनाथ थिए । त्यतिबेलै भारतीय बजारबाट बोरामा केही सामान लिएर आयो ७ देखि ९ जना युवाको समूह । उनीहरूलाई ड्युटीमा रहेका सशस्त्र प्रहरीले रोक्दै चेकजाँच गर्न थाले । सशस्त्र प्रहरीले चेकजाँच गर्दा सशस्त्र प्रहरी र भारतीय बजारबाट सामान लिएर आएका ती युवाहरूबीच विवाद भयो । विवादले उग्ररूप लिएपछि ड्युटीमा खटिएका सशस्त्र प्रहरीलाई ती युवाहरूको समूहले कुटपिट गरी घाइते बनाउँदै हतियार खोस्ने प्रयास ग¥यो । त्यसैक्रममा गोली चल्यो । हरिनगर गाउँपालिका–७ घुस्कीका स्थानीय २० वर्षीय सुवास जटको पेटमा गोली वारपार भयो र उनी गम्भीर घाइते भए । माथि उल्लेखित वाक्य सीमा सुरक्षा बल सुनसरीका एसपी कृष्ण ढकालसँगको कुराकानी आधारित हो ।
एसपी ढकालका अनुसार शुक्रबार राति सुनसरीको हरिनगर गाउँपालिका–७ स्थित घुस्कीमा सुरक्षाकर्मीको गोली लागेर स्थानीय एक युवा गम्भीर घाइते भएका छन् । सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीले अवैध रूपमा ल्याएको सामान नियन्त्रणमा लिन खोजेपछि विवाद भएको सशस्त्र प्रहरीको भनाइ छ । स्थानीय र सशस्त्र प्रहरीबीच विवाद भएको र सोही क्रममा स्थानीय युवाहरूको समूहले हतियार खोस्न खोजेपछि गोली चलेको सीमा सुरक्षा बल सुनसरीका एसपी ढकाल बताउँछन् ।
सशस्त्र प्रहरीको गोली लागेर स्थानीय हरिनगर गाउँपालिका–७ घुस्कीका सुवादका साथै युवाहरूको कुटपिटबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान जीवराज विशुङ्खेसमेत घाइते भएको उनले बताए । अवैध सामान ल्याउनेहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गरे । ‘सशस्त्र प्रहरी ज्यान बचाउन प्रतिकारमा उत्रिएको हो’–एसपी ढकालले भने । घाइते विशुङ्खेको सशस्त्र प्रहरी अस्पताल पकलीमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेका छन् भने सुवादको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीको भनाइ छ । घटनापछि सीमामा भीडभाड भएपछि शुक्रबार राति नै उक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिएको थियो ।
घटना २ः
२०७५ चैत २२ गते भारतबाट ल्याएको सामान चेकजाँच गर्ने क्रममा भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ८ स्थित नरसिंहमा प्रहरी र स्थानीयबीच झडप हुँदा गोली चल्यो । त्यतिबेला समेत प्रहरीले तस्करहरूले हतियार खोस्ने प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाएको बताएको थियो भने स्थानीयले प्रहरीले किसानमाथि ज्यादती गरेको आरोप लगाए । चेकजाँच गर्ने क्रममै प्रहरीमाथि आक्रमण भएपछि केही राउण्ड गोली चल्दा स्थानीय जियाबुल मियाँ घाइते भएका थिए ।
घटना ३ः
२०७५ साउन ९ गते सशस्त्र प्रहरी र स्थानीयबीचको विवादले उग्ररूप लिएपछि गोली चलेको थियो । सो क्रममा चार जना स्थानीय घाइते भएका थिए । त्यतिबेला बिओपी घुस्कीमा कार्यरत केही सशस्त्र प्रहरी जवानले स्थानीय दुई बालक र गर्भवती महिलालाई कुटपिट गरेपछि स्थिति तनावग्रस्त हुँदा सशस्त्र प्रहरीले ८ राउण्ड गोली चलाएको थियो । तस्करीको विषयमा स्थानीय र सीमामा तैनाथ सुरक्षाकर्मीबीच विवाद भई गोली चलेको बताइएको थियो ।
माथि उल्लेखित घटनाहरू केही प्रतिनिधिमूलक मात्र हुन् । सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र तस्करबीच विवाद हुनु कुनै नौलो कुरा होइन । समय–समयमा यस्ता घटना हुँदै आएका उदाहरणहरू प्रशस्त छन् । यी सबैको मुख्य कारण हो खुला सीमा । सीमावर्ती क्षेत्रका ६० प्रतिशत स्थानीयको रोजीरोटी गर्ने माध्यम छैन । यसक्षेत्रमा बसोबास गर्ने अधिकांश गरिब, अशिक्षित र बेरोजगार छन् । उनीहरू कि त वैदेशिक रोजगारमा ऋण काढेर खाडी लाग्छन् भने कि त घरमै बेरोजगार भएर बस्छन् । रोजगार नहुँदा के खाने ? के लाउने ? भन्ने अवस्था सिर्जना हुन्छ, जसले गर्दा सीमावर्ती क्षेत्रका युवावर्ग अवैधानिक क्रियाकलापमा संलग्न हुने गर्छन् ।
नाम उल्लेख नगर्ने शर्तमा सीमामा कपडा व्यापार गर्ने एक युवाले भने, ‘तस्करी गराउनु हाम्रो रहर हुँदै होइन, रहरभित्र बाध्यता पनि लुकेको छ । के हामी सबैको नजरमा इज्जतसाथ बस्न चाहँदैनौं ? कसको चाहना हुँदैन तर, हाम्रो आफ्नै बाध्यता छ । तस्करको ट्याग समाजले लगाइदिएको छ । अवैधानिक तवरबाट पैसा मात्र कमाएर के गर्नु इज्जत न भएपछि ? पेट पाल्न केही न केही त गर्नैप¥यो के गर्ने ?’ केहीले रहरले त केहीले बाध्यताले सीमामा तस्करी गराउने गरेको उनको कथन छ ।
तस्करी रोक्ने कि गोली ठोक्ने ?
सीमामा विवाद भई गोली चल्दा सुरक्षाकर्मीमाथि ज्यादती गरेको आरोप लगाइन्छ । तर, सुरक्षाकर्मीले भने आत्मरक्षाका लागि मात्र गोली चलाउने गरेको बताउने गरेको छ । नेपाल–भारतबीचको खुला सीमाका कारण तस्करी नियन्त्रण असम्भवजस्तै रहेको सुरक्षा निकायका उच्चपदस्थ अधिकारी आफै स्वीकार्छन् । खुला सीमा नाका भएको कारण सीमावर्ती क्षेत्रमा तैनाथ सुरक्षाकर्मीमाथि तस्करलाई संरक्षण गरेको आरोपसमेत लाग्दै आएको छ ।
यता प्रहरीले भने त्यस्ता आरोपमा सत्यता नभएको भन्दै इन्कार गर्दै आएको छ । तस्करी गरेको कुरा यथार्थ भए पनि बेला–बेला सुरक्षाकर्मीले अनावश्यक रूपमा कहिले कुटपिट गरेर त कहिले गोली चलाएर तस्करमाथि ज्यादती गर्दै आएको अर्का एक व्यापारी बताउँछन् । नियमअनुरूप कारोबार गर्दा फाइदा नहुने हुँदा चोरी–पैठारी गर्ने गरिएको बताउँदै ती व्यापारीले कहिलेकाहीँ भनाभन भए पनि ज्यादती नगर्न आग्रह गर्छन् ।
घुस्कीमा थप तनाव बढ्ने सम्भावना
शुक्रबार सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक युवा चिन्ताजनक अवस्थामा उपचाररत हुँदा घुस्कीमा तनाव बढ्न सक्ने अनुमान गरिएको छ । अवस्था तनावग्रस्त हुने सम्भावनालाई दृष्टिगत गरी सीमा सुरक्षा बल सुनसरीले डिएसपी मित्र श्रेष्ठको नेतृत्वमा दर्जनौंको सङ्ख्यामा सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको छ ।
सीमा क्षेत्रमा घर भएका घाइते युवाको नेपालतर्फका मात्र नभएर भारतबाट आएका उनका आफन्त तथा स्थानीयले सशस्त्र प्रहरी विरुद्ध आन्दोलन गरेका थिए । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गर्दै सुरक्षाकर्मीले जानीजानी गोली हानेको भन्दै कारबाहीको माग गरेका छन् । अवस्थालाई नियन्त्रणमा राख्न सशस्त्र प्रहरी तयारी अवस्थामा रहेको एसपी ढकाल बताउँछन् ।
आक्रोसित जट समुदायलाई साम्य पार्न आफूहरू प्रयासरत रहेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । घटना किन र के कारण भएको हो भन्ने बारे बुझ्न अनुसन्धान आवश्यक रहेको बताउँदै अन्सारीले अनुसन्धानपछि दोषीलाई कारबाही हुनुपर्नेमा जोड दिए । घटनापछि सशस्त्र प्रहरी बल बिओपी घुस्कीबाट इन्स्पेक्टर डिगेन्द्र ओली नेतृत्वको सशस्त्र प्रहरी टोली तानिएको छ ।