भद्रपुर/ संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुरले सदरमुकाम भद्रपुरमा सुरु गर्न लागिएको पठनपाठन सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराउँदै प्याब्सन, एन प्याब्सनको असार ३१ गतेको निर्णय सच्याउन माग राखी ध्यानाकर्षण पत्र बुझाएको छ ।

गएकै शैक्षिक वर्षको विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई दिइनु पर्ने पारिश्रमिक नदिइ प्याब्सन, एन प्याब्सनको नाममा राज्यको कानुन विपरित साउन १ गतेबाट बेतलवी विदा दिने निर्णय गरेको बिरोध गर्दै सदरमुकाम क्षेत्रमा सञ्चालन गरिन लागेको कक्षा विगतका सहमती कार्यान्वयन नगरी सुचारू नगर्न अनुरोध गर्दै भद्रपुर नगरपालिका तथा नगर प्याब्सनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नगर शिक्षा समितिका अध्यक्ष नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई बुझाइएको ध्यानाकर्षण पत्रमा नगर सचिव खिलनाथ पाण्डे निकास, उपाध्यक्ष विदुर ढुङ्गाना तथा अध्यक्ष द्रोण अधिकारीद्वारा सम्युक्त हस्ताक्षर गरिएको छ । २०७७ जेठ ५ गते प्याब्सन एन प्याब्सन भद्रपुर नगर समितिले इस्टुसित गरेको सहमती २०७७ साउन ४ गतेसम्म आइपुग्दा कार्यान्वयनको चरणमा पुग्न नसकेको प्रति गम्भीर आपत्ति प्रकट गर्दै ध्यानाकर्षण गराउन चाहन्छौं भनि उल्लेख गरएको छ ।

जेठ १५ गतेभित्र भद्रपुर नगर क्षेत्रका प्याब्सन तथा एन प्याब्सनमा आबद्ध विद्यालयहरूले शैक्षिक वर्ष २०७६ को बाँकी रहेको सम्पूर्ण शिक्षक तथा कर्मचारीको तलव भुक्तानी गर्ने सहमती भएकोमा हालसम्म २० वटाभन्दा बढी विद्यालयले अहिलेसम्म पनि तलव भुक्तानी नगरेको पत्रमा उल्लेख गरिएको छ नगर क्षेत्रमा रहेका एक हजार दुई सय बढी शिक्षक कर्मचारीको सहमती नचाहिने तर ३३ वटा विद्यालयका सञ्चालकको स्वार्थ र आवश्यकता मात्र पूरा गर्न नगर सरकार गठित गरिएको पत्रमा भनिएको छ ।