काठमाडौं  / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केही बेर बसेको छ । बैठकले बाढी, पहिरो र डुबानमा परेका पीडितहरूको उद्धार, राहत र उपचारका साथै अस्थायी आवासको प्रबन्ध गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

मंगलबार अत्यन्तै छोटो समय बसेको बैठकले आन्तरिक समस्याको विषयमा कुनै निर्णय नगरे पनि विशेष प्रस्ताव पारित गर्दै बाढी पहिरोमा परेका नागरिकको उद्धार व्यवस्थापनका लागि भने ध्यानाकर्षण गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, पार्टी नेता, कार्यकर्ता, युवा, विद्यार्थी सबैलाई स्वयंसेवी भावनाका साथ उद्धार, राहत, पुनर्स्थापनालगायतको काममा परिचालित हुनसमेत आह्वान पाटीृ पंतिलाई आग्रह गरेको छ ।

ओली बैठकमा उपस्थित भएनन

प्रधानमन्त्री ओली भने बैठकमा उपस्थित नभएको श्रेष्ठले जानकारी दिए । बिहान ११ बजे बोलाइएको बैठक स्थगित गरेर साढे १ पछि मात्र सुरु भएको थियो । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री अन्य काममै व्यस्त रहेकाले अनुपस्थित रहेको जानकारी दिएका थिए । अर्को बैठक साउन १३ गते बिहान ११ बजे बालुवाटारमा बस्ने गरि सकिएको छ ।