- सन्देश किराती
भोजपुर / भोजपुरमा अत्याधिक बर्षाका कारण रुद्राक्षको फुल झर्न थाले पछि किसान चिन्तित बनेका छन । वर्षाका कारण फल लाग्न नपाउँदै फूल झर्न थाले पछि जिल्लाका कृषक चिन्तित बनेका हुन् ।
अविरल पानी परे पछि फल नलाग्दै फूल कुहिन थालेको षडानन्द नगरपालिकाका कृषक केवल साहीले बताए । उनले भने–“लाखौँ खर्च गरेर दाना राम्रो हुन्छ भनेर विषादीको प्रयोग गरे पनि बोटमै फूल अडिएन, गत सालजस्तो दाना फल्ने सम्भावना छैन, अब लगानीसमेत उठन गाह्रो छ ।’
कोरोनाको महामारीका कारण बाह्य देशबाट व्यापारी आउन सहज नभए पछि रुद्राक्ष विक्रीमासमेत समस्या हुने अर्का कृषक विष्णु बस्नेतले बताए । उनले पानी परेका कारण रुद्राक्षको फूल झरेकाले उत्पादन घटने र गत बर्षहरुमा जस्तो व्यापारीहरु दाना किन्न आउने सम्भावना पनि कम भएको सुनाए ।
रुद्राक्षमा फूल फुल्ने समयमा विषादी लगाउदा पनि फुल झर्ने समस्या बढेको हुन सक्ने रुद्राक्ष व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष उत्तम कट्वालको भनाई छ । कटवालले भने “रुद्राक्षको फूल राम्रो भए पनि बढी पानी र विषादीको कारण फूल झरेको हुन सक्छ , विषादी मापदण्ड भन्दा बढी प्रयोग गर्दा समेत फुल झरेको हुन सक्छ । ” उनले कृषि विज्ञहरुसंग परामर्श गरेर मात्र विषादी प्रयोग गर्न कृषकहरुलाई सुझाव दिए । रुद्राक्ष खेती जिल्लाको पौवादुम्मा गाउपालिका , भोजपुर नगरपालिका, षडानन्द नगरपालिकाको दिङलालगाएत क्षेत्रमा हुने गरेको छ ।