उदयपुर । उदयपुरमा तीन जना भैंसी चोर पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ जलजले निवासी प्रेमप्रसाद भट्टराई र उमेश भट्टराईको दुई वटा भैंसी चोरी गर्ने तीन जना पक्राउ परेका हुन् ।

गत साउन २७ गते राति गोठबाटै करिब दुई लाख बराबरको भैंसी हराएको प्रहरीले जनाएको छ  । गोठबाटै भैंसी हराएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट विशेष अनुसन्धान टोली खटेको थियो । टोलीले सिरहा र सप्तरी जिल्लामासमेत अनुसन्धान तथा खोजतलास गरेको प्रहरीले जनाएको छ ।

सप्तरी खड्ग नगरपालिका–२ स्थायी घर भई हाल त्रिनपा–६ जलजलेमा बसी भैंसी व्यापार गर्ने २८ वर्षीय तफेजुल अन्सारी र सिरहा महेशपुरपतार नगरपालिका–२ निबासी ३० वर्षीय इनुस भन्ने कुदुस मियाँ र सिरहाको गोलबजारका ३४ वर्षीय चन्द्रेश्वर साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्सारी र मियाँले स.१० प ७१८१ नम्बरको मोटरसाइकलमा भैंसी चोरी गरी साहलाई गाडी लिएर आउन लगाई ना.१ ज २३४० नम्बरको पिकअपमा भैंसी चोरेर लगेको प्रहरीले जनाएको छ ।

भैंसी चोरी गर्ने तीन जनासहित चोरीमा प्रयोग भएका मोटरसाइकल र पिकअप नियन्त्रणमा लिई चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।