- अनिल श्रेष्ठ
विराटनगर / भारतमा बसेर नेपालको विभिन्न शहरमा अवैध हतियार र लागूऔषध भित्रयाउने गिरोहका मुख्य नाइके पक्राउ परेका छन् । प्रहरीको ‘मोस्ट वान्टेडको’ सूचीमा रहेका अवैध हतियार र लागूऔषधको कारोबारी गर्ने भारतीय नागरिक पक्राउ परेका हुन् ।
भारतमा बसी प्रदेश १ र २ नम्बर प्रदेशको विभिन्न जिल्लाहरूमा हातहतियार र लागूऔषधको कारोबारको सञ्जाल बिस्तार गर्ने भारतको अररिया जिल्ला इन्द्रनगर ग्राम पञ्चायतका १० टिकुलिया टोलका ३९ वर्षिय बग्गा भनेर चिनिने प्रदिप यादब शनिबार पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘पक्राउ बग्गा आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईके रहेको खुलेको छ,’ डिएसपी राईले भने, ‘हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी पनि हुन् । भारतमा बसेर नेपालमा अवैध हतियार र लागूऔषधको सञ्जाल विस्तर गरेको पनि अनुसन्धानबाट खुलेको छ ।’
विराटनगर १६ दरैयाबाट पक्राउ गरेको बग्गालाई प्रहरीले डाइलेक्स डि.सी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्कीलागूऔषध सहित पक्राउ गरेको डिएसपी राईले बताए ।
यस्तो छ बग्गाको अपराधिक क्रियाकलाप

भारतमा बसेर नेपालमा थुप्रै अपराधिक क्रियाकलपामा संलग्न रहेको प्रहरीले जनाएको छ । बग्गाले २०७५ मंसिर ३ गते उदयपुरको उदयपुरगढी गाँउपालिका १९ को मन्दिप तामाङलाई मेडिइन युएसऐ अटोमेटिक पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने चार थान गोली पठाउने गरेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका डिएसपी मानबहादुर राईले जानकारी दिए । यस्तै सुनसरी दुहवी नगरपालिका ५ घर भइ हाल इटहरी १२ खनार बस्ने ३५ वर्षीय शुशिलकुमार साहुलाई भारतबाट अवैध हातहतियार नेपाल तर्फ पठाउने क्रममा मन्दिप तामाङ र शुशिल कुमार साहुलाई प्रहरीले विराटनगर १६ स्थित विराटनगर हुलास मेटल चौकबाट पक्राउ गरेको थियो । पक्राउ परेका तीन जना सहित प्रहरीले उनीहरू हतहतियार तथा खरखजना मुद्दा अदालतमा दर्ता गराएको थियो । सो मुद्दामा भारतबाट अवैध हातहतियार नेपाल तर्फ पठाउने गिरोहका मुख्य नाईके बग्गा रहेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
यस्तै २०७५ मंसिर ८ गते बग्गाले विराटनगर१६ बस्ने २२ वर्षीय बिध्यानन्द मण्डल र सोही ठाउँका २० वर्षीय अनुप गिरीलाई ३८० एम्पुल लागूऔषध , १०५ ग्राम ११० मिलीग्राम ब्राउन सुगर लागू औषध शरीरमा टेपलेबाधी, कटुवा पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली धरान घर भई ललितपुर महानगरपालिका ४ एकान्तकुनामा डेरा गरी बस्ने ४१ वर्षीय रुपम राईलाई विराटनगरस्थित बसपार्कमा दिन भनी अबैध हातहियार तथा लागू औषध पठाएको खुलेको छ । उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले विराटनगर महानगरपलिका ११ बसपार्क बाट पक्राउ गरी लागूऔषध तथा हातहतियार खरखजना मुद्दा चलाएको थियो । सो हातहतियार र लागूऔषध नेपाल तर्फ पठाउने गिरोहको मुख्य नाईके बग्गा रहेको मोरङ प्रहरीले जनाएको छ ।