बिर्तामोड । आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी मरणासन्न बनाएर फरार भएका अर्जुनधारा–२ खुदुनाबारीका राजेन्द्र अधिकारी मृत भेटिएका छन् । अधिकारीको शव नजिकैको जंगलमा शनिबार फेला परेको प्रहरीले जनाएको छ ।

भदौ १ गते घरायसी विवादमा अधिकारीले श्रीमती लक्ष्मी अधिकारीमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए । श्रीमतीलाई घाइते बनाएर नजिकको जंगलतिर पसेका अधिकारीलाई प्रहरी र स्थानीयले खोज्दा फेला पार्न सकेका थिएनन् । तर, सोही दिन अधिकारीले जंगलमा पासो लगाएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

डोरी र घटनामा प्रयोग गरिएको खुकुरी लिएर अधिकारी जंगल पसेको र घटनास्थलबाट एक किलोमिटरको दूरीमा रहेको जंगलभित्र सखुवाको रुखको हाँगामा पासो लगाएर झुन्डिएकाे गरेको अवस्थामा शव पाइएको शनिश्चरे प्रहरी चौकीका इन्चार्ज सुर्यबहादुर बस्नेतले जानकारी दिए ।

शव नजिकै टुप्पो गाडिएको अवस्थामा घटनामा प्रयोग गरिएको खुकुरी समेत पाइएको थियो । अधिकारीको शव कुहिएको, कीरा परेको र आँखा निस्किसकेको अवस्थामा फेला परेकाले श्रीमतीलाई हतियार प्रहार गरेको घटना भएकै दिन आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।

जंगलमा शव कुहिएर दुर्गन्ध फैलिएपछि स्थानीयले खोजतलास गर्दा अधिकारीको शव फेला परेका थियो । अधिकारीले श्रीमतीको हात, छाती, गर्धनमा अन्धाधुन्ध खुकुरी प्रहार गरेर जंगलतर्फ भागेका थिए । खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको अनुमान गरेर अधिकारीले पनि आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

भदौ १ गते बिहान घर नजिकै रहेको बारीमा घाँस काटिरहेको अवस्थामा अधिकारीले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । गम्भीर अवस्थाका श्रीमतीलाई बिएन्डसी हस्पिटल बिर्तामोडमा उपचारका लागि लगिएको थियो । अहिले उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।