भद्रपुर / अवैध हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । झापा साविक जलथल –४ हाल हल्दीबारी गाउँपालिका ३ का ३८ वर्षीय सुनिल मेचे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेचेलाइ आइतबार विर्तामोड –१ स्थित बजाज सोरुम नजिकबाट पक्राउ गरिएको जिल्लाका डिएसपी राकेश थापाले जनाए । अवैध हात हतियार खरखजाना मुद्दामा जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ०७५ चैत्र ११ मा एक वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकी फैसला गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरबाट उक्त पत्र जिल्लामा प्राप्त भएपछि खोजतलास गर्ने क्रममा मेचेलाई फेला पारिएको उनले बताए । कैद भुक्तानका लागि मेचेलाई कारागार कार्यालय नख्खु ललितपुरमा पठाइने उनले जानकारी दिए ।