उदयपुर/ उदयपुरमा आफ्नै बुबा र धामी बस्न आएका पाहुनालाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने छोरा पक्राउ परेका छन् ।
रौतामाई गाउँपालिका–७ पाखाटोलमा बुबा र धामीलाई खुकुरी प्रहार गरी घाइते बनाउने २६ वर्षीय नवीन भनिने खम्बसिंह परियार पक्राउ परेका हुन् । यही भदौ ५ गते राति ९ः५० बजे खम्बसिंहले आफ्नै बुबा ५८ वर्षीय गङ्गाबहादुर परियार र घरमा धामी बस्न आएका त्रियुगा नगरपालिका–७ ज्यामिरे निबासी ५५ वर्षीय जुद्ध मगरलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये गङ्गाको टाउको र कुममा गहिरो चोट लागेको छ भने जुद्धको गर्धनमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवैको विराटनगरस्थित गोल्डेन अस्पतालको आईसीयुमा राखी उपचार भइरहेको जनाइएको छ ।
बुबा र धामीलाई खुकुरी प्रहार गरी फरार रहेका खम्बसिंहलाई खोजतलास गरी लुकिछिपी बसेको अवस्थामा प्रहरीले आइतबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका खम्बसिंहलाई जिप्रका उदयपुर ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।