इनरुवा । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त ८ वर्ष पछि पक्राउ परेका छन् ।
सुनसरीको साविक नरसिंह घर भएका अन्दाजी ४२ वर्षका बुदुर यादव कोशी कटान क्षेत्रबाट गयराती पक्राउ परेका हुन् ।
फरार रहँदै आएका यादव केहि वर्ष यता परिवार सहित दाङ बस्दै आएको खुलेको छ । दाङबाट घर फर्किएको भन्ने सुचना प्रहरीले सोही जिल्लाको सुराकीबाट प्राप्त गरेको जनाएको छ ।
सोही आधारमा उनको खोजीमा खटिएको आइपीएस अफिसर विष्णु बस्नेत नेतृत्वको टोलीले यादवलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरीका प्रहरी प्रमुख कमल थापाले अपहरण मुद्दामा फरार रहँदै आएका यादवलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
प्रहरीका अनुसार अपहरण तथा शरीर बन्धक मुद्दामा यादव विरुद्ध अदालतले ११ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।

सुनसरी जिल्ला अदालतले ९ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेकोमा पुनरावेदन परी त्यहाँबाट थप २ वर्ष सजाय थप भएको थियो ।