विराटनगर/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का २२ वर्षीय गुणराज यादवको हत्या आरोपमा सुनसरी प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले घटनाको मुख्य योजनाकार र घटना लुकाउन सहयोग पुर्याउने थप तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेहरूमा भोक्राहा नरसिंह गाउँपालिका–७ का ३९ वर्षीय जनार्दन यादव, सोही ठाउँका ६२ वर्षीय बुद्धराम यादव र ५० वर्षीय कृपाराम यादव रहेका छन् ।

पक्राउ परेका तीनै जनालाई सुनसरी प्रहरीले आइतबार अदालतमा कर्तव्य ज्यान मुद्दममा तीन दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको छ । प्रहरीले यसअघि गुणराजको हत्या आरोपमा पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । शनिबार पक्राउ परेका गाउँका अगुवा रहेका र उनीहरू हत्याको मुख्य योजनाकार तथा घटना लुकाउन सहयोग पु¥याउने मतियारको रूपमा पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।

‘अनुसन्धान गर्दै जाने क्रममा हत्याको योजना बनाउने थप तीन जना मतियारलाई पक्राउ गरिएको छ’ एसपी थापाले भने, ‘पक्राउ परेकालाई अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।’ हत्याको घटना लुकाउन पछि पक्राउ परेका तीन जनाले पनि सहयोग गरेको खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए । ‘कर्तव्य गरेपछि सबै घटनाको बारेमा गाउँका अगुवा भएकाले पछि पक्राउ परेका तीन जनालाई सुनाए थिए’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘घटना लुकाउन पनि तिनीहरूले भूमिका खेलेको देखिन्छ ।’

पक्राउ परेकामध्ये कृपारामले गाउँमा मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको स्थानीयको आरोप छ । गाउँमा मिटर ब्याजमा पैसा लगानी गर्ने र उनले भनेको समयमा पैसा बुझाउन नसके घर–जग्गा आफ्नो नाममा बनाउने गरेका छन् । पक्राउ परेका कृपारामले मिटर ब्याजमा पैसा लगाउने गरेको विषयमा पनि प्रमाण सङ्कलन गरी छुट्टै प्रहरी टोली परिचालन गरी अनुसन्धान गर्ने सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि गुणराज यादवको हत्यामा संलग्न रहेको आरोपमा पप्पु राम, दिनेश महतो, शिवकुमार मेहता, प्रदीप राम र दीपककुमार यादवलाई सार्वजनिक गरेको छ । उनीहरूले गुणराजको २९ साउनमा हत्या गरेपछि प्लास्टिकमा हालेर नजिकैको सुनसरी खोलामा फालेको प्रहरीले जनाएको छ ।

बाबुछोरा अभियुक्त
गुणराज यादव हत्या आरोपमा प्रहरीले बाबुछोरालाई पक्राउ गरेको छ । शनिबार पक्राउ पर्ने ६२ वर्षीय बुधराम यादव बाबु हुन् भने यसअघि पक्राउ परेका दीपककुमार यादव छोरा हुन् । बाबुछोरा नै यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका बाबुलाई यस घटनामा मतियारको रूपमा र छोरा दीपकलाई प्रत्यक्ष कर्तव्य गराउन संलग्न रहेको सुनसरी प्रहरीले जनाएको छ । गुणराज हत्या आरोपमा पक्राउ परेका अभियुक्तहरूको घरमा प्रहरीले छापा मारेको थियो ।

प्रहरीले पक्राउ परेका प्रतिवादीको घरमा हातहतियार पनि लुकाएर राखिएको जानकारी पाएपछि घर खानतलासी गरेको थियो । तर प्रहरीले प्रतिवादीको घरमा हतियार भने भेटेको थिएन । प्रहरीले प्रतिवादीहरूको घर खानतलासी गर्ने क्रममा मृतकका आफन्त र स्थानीयले हत्या आरोपमा पक्राउ परेकाहरूलाई हदैसम्मको कारबाहीको माग राख्दै नाराबाजी गरेका थिए ।