भद्रपुर / झापा र इलामका वनजङ्गलबाट वन्यजन्तुको सिकार हुने गरेको पाइएको छ । सशस्त्र प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका ५ स्थित पानीघट्टाबाट हरिणको मासु बरामद गरेपछि यो पुष्टि भएको हो ।
केही व्यक्तिहरूले जङ्गलबाट हरिण ल्याएको र त्यसलाई मारेर मासु काटी रहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट खटिएको टोलीले सोमबार राती हरिणको मासु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिए । घटनामा संलग्न व्यक्तिहरु सशस्त्र प्रहरी पुग्न साथ फरार भएको जनाइएको छ ।
बरामद मासु डिभिजन वन कार्यालय झापाका रेन्जर कुलप्रसाद भट्टराईलाई जिम्मा लगाएको भण्डारीले बताए । अन्दाजी २० किलो हरिणको मासु वनलाई प्रहरीले बुझाएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । घटनास्थलमा हरिणको सिङ् भएको ठाउँ र शरीर दुवै फेला परेको उनले बताए ।
पछिल्लो समयमा झापा र इलामको जङ्गलमा हरिणको सङ्ख्यामा वृद्धि हुँदै गइरहेकोले यस्तो घटना हुन पुगेको उनले बताए । सिकारीहरुले वन्यजन्तुको सिकार गरी मासु, हड्डि र छाला चर्को मूल्यमा बिक्री गर्ने गरेको स्थानीय बताउँछन् ।