बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाको टाङटिङ खोलामा गएराती एक किशोरी बलात्कृत भएकी छन् । मंगलबार साँझ शनिश्चरे बजारबाट खुदुनाबारी घर जाँदै गर्दा धाक धम्की दिदै दुई युवाले उनी माथि बलात्कार गरेका हुन् ।
किशोरीलाई विरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा पुगेर जबरजस्ती बलात्कार गरेको प्रहरीले जनाएको छ । अर्जुनधारा १ र ४ मा पर्ने मदनपुरस्थित विरिङ जलाधार क्षेत्रमा रहेको नर्सरीमा धाकधम्की दिएर किशोरीमाथि जबरजस्ती करणी गरिएको बताइएको छ ।

अर्जुनधारा ३ मा घर भएकी युवतीलाई बलत्कार गरेको आरोपमा शनिश्चरे प्रहरी चौकीले २ जनालाई पक्राउ गरेको छ । गस्तीमा रहेको प्रहरीको टोलीले अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षीय विक्रम हास्दालाई पक्राउ गरेको हो । उनीहरु सवारी चालक रहेको प्रहरीले जनाएको छ ।
घटनापछि टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिर आएको थियो । किशोरीको भनाइका आधारमा प्रहरीले बाटोमा फर्किंदै गरेको अवस्थामा आरोपित दुई युवालाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मुकुन्द रिजालका अनुसार किशोरीको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ । यसअघि अर्जुनधाराकै शंकर हस्पिटलमा प्राथमिक उपचार गरिएको थियो । पक्राउ परेका युवालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको छ । उनीहरुलाई बुधबार नै अदालतबाट जबरजस्ती करणी उद्योग गरेको अभियोगमा म्याद थप गरि अनुसंधान शुरु गरिने डिएसपी रिजालले जानकारी दिए ।