विराटनगर । विराटनगरका दुई जना व्यापारीलाई हतियार देखाएर धम्की दिदै चन्दा असुल्ने गिरोहका मुख्य नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

एक जना भारतीय नागरिकसहित गिरोहका मुख्य नाइकेलाई प्रहरीले हातहतियारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका २ आर्दशनगरका २६ वर्षिय किसन साह, सोही ठाउँका २८ वर्षिय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षिय अभिषेक राय, सप्तरी बोदेबसाईन नगरपालिका ८ काचन बस्ने २७ वर्षिय नन्दु भन्ने नन्दकिशोर साह र भारतको बिहार राज्य सितामणी जिल्ला घर भइ विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडा पसलमा काम गर्ने २७ वर्षिय राजुक साहलाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी  दिए । पक्राउ परेका अभियुक्तहरूलाई मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ ।

पक्राउ परेका मध्ये गिरोहका मुख्य नाइके अभिषेश राय रहेका छन् । रायले व्यापारीहरूलाई फोन गरि धम्की दिदै चन्दै असुलेको गरेको प्रहरीले जनाएको छ । ‘गिरोहका मुख्य नाइके अभिषेकले २५ असारमा फोन गरि विराटनगरका एक जना व्यापारीलाई डर, त्रास देखाउँदै १० लाख रुपैयाँ चन्दा मागेका थिए,’ मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भने, ‘ती व्यापारीले दुई पटक गरि पाँच लाख रूपैयाँ दिएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

गिरोहरूलाई पहिलो पटक विराटनगरको गुद्रीमा १ लाख र दोस्रो पटक नोबेल हस्पिटल जाने नहरमा चार लाख चन्दा दिएको खुलेको छ ।’ पक्राउ परेका गिरोहले चन्दा असुल्न र व्यापारीलाई धम्काउन भारतबाट पेस्तोल पनि ल्याएका थिए । प्रहरीले पेस्तोल र त्यसमा लाग्ने तीन थान गोली पनि बरामद गरेको छ । ‘पहिलो पटक चन्दा मागेका व्यापारीले समयमा पैसा नदिएपछि पक्राउ परेका गिरोहले ती व्यापारीको घरमा धम्काउन उद्देश्यले गोली पनि प्रहार गरेको खुलेको छ,’ एसपी खड्काले भने, ‘त्यसपछि पैसाँ दिएको प्रराम्भिक चरणको अनुसन्धानले देखाउँछ ।’

धम्काएको पहिलो व्यापारीबाट पाँच लाख रुपैयाँ असुलेपछि पक्राउ परेका गिरोहले दोस्रो व्यापारीलाई पनि धम्काएर १३ साउनमा चन्दा मागेका थिए । तर, ती व्यापारीले चन्दा दिन नपाउँदै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तहरूलाई मोरङ प्रहरीले ‘हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध’ मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरेको एसपी खड्काले बताए ।