भद्रपुर । झापामा वर्षेनी मानब बेचबिखनकका कारण समाज आक्रन्तसँगै भयावह स्थिती देखिएको छ । झापाका १ सय ४४ किलोमीटर खुल्ला सीमानामा रहेका दर्जनौँ नाकामध्ये मुख्य दुइ नाका काँकडभिट्टा र भद्रपुरबाट मानव तस्करले छिमेकी भारतसँगै तेस्रो मुलुक लैजाने गरेका छन् ।

यस्ता अपराधिक कृयाकलाप रोक्न प्रहरी युनिट देखि अनेकौं एनजिओ,आइएनजिओ छरपष्ट देखिएका छन् तर ,चेलीबेटी बेचिने क्रम भने बढेर गएको छ । सीमा क्षेत्रमा घुम्ती राखेर त्यस्ता सङ्घस्थाले कर्मचारी मार्फत निगरानी बढाउन निर्देशन दिएको हुन्छ । प्रहरीले साधा पोसाकमा प्रहरी खटाएको हुन्छ ,तर मानव बेचबिखन रोक्ने जालो तोडन कसैले सकेका छैनन ।

झापामा जिल्ला प्रहरी,सानाहात ,माइती नेपाल र आफन्त नेपालले यसको निगरानी गरिरहेका छन् । यी निकायको तथ्याङ्कलाइ आधारमान्दा झापामा मानव बेचबिखन भयावह छ । रोक्ने निकाय सक्रिय देखिएपनि बेचबिखनको गिरोह झनै सकृय भएका कारण न्यूनिकरण हुननसकेको पाइन्छ ।

जिल्ला प्रहरी कार्यालयको केही वर्षयताको तथ्याङ्कलाइ हेर्ने हो भने मानवबेचबिखनको अवस्थामा भने घट्दो दरमा देखिएपनि संस्थाहरुमा बढेको पाइएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा ३० जना पक्राउ परे भने २० जना अझैपनि फरार रहेको जिल्लाका प्रहरी प्रवक्ता राकेश थापाले बताए । त्यसैगरी आर्थिक बर्ष ०७५।७६ मा भने केही घटेर १५ वटा दर्ता भएकोमा १९ पुरुष र ७ महिला गरी २६ जना पक्राउ परेको डिएसपी थापाको भनाइ छ ।

१८ जनालाइ उद्दार गरिएको छ भने ३ पुरुष र एक महिला फरार रहेको उनले जनाए । त्यसैगरी ०७६।७७ मा १३ पुरुष र बाँकी महिला गरी २२ जना पक्राउ परेका थिए । ११ वटा मुद्दा दर्तामा ९ वटा फछ्र्यौट भएको उनले बताए । चालु आर्थिक वर्षको हालसम्म मुद्दा दर्ता नभएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सानाहात नेपालले ०७५।०७६ मा मानव बेचबिखनको जोखिममा परेका १५ बर्ष मुनिका ६ जनासहित ६४ जना पीडितहरुको उद्दार गरेको जनाएको छ । संस्थाले दिएको जानकारी अनुसार १५ जनाको हराएको निबेदन आएको र फेला परेको १० जना रहेका छन् ।

६ वटा मुद्दा दर्ता गरिएको स्टेशन मेनेजर बिक्रम वाग्लेले बताए । त्यसैगरी ०७६।०७७मा बेचबिखनको जोखिममा परेका २ सय ९ जना पीडितहरुको उद्दार गरिएकामा पन्ध्रबर्ष मुनिका १३ जना रहेको उनले जनाए । हराएको निबेदन सङ्ख्या ९ वटा रहेको छ भने हराएका ७ जना फेला परेको उनको भनाइ छ ।

भारतमा भेटिएका र भारतको सेल्टरमा रहेका चितवन घर भएका दुइ बालक र झापा घर भएकी एक बालिकालाई नेपाल ल्याइ अभिभावकको जिम्मा लगाएको उनले जनाए ।
पछिल्लो एकबर्षमा ५ वटा मुद्दा मानब बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा ९ जना लाई पक्राउ गरी कारबाही गरिएको उनको भनाइ छ । ६ जना हालसम्म पनि फरार रहेको उनले जनाए । वि.सं.२०७४ साउन मसान्तपछिका पुरानाे मुद्दाहरुमा सात जना फरार नै रहेको उनले बताए ।

आफन्तबाट बलात्कृत तथा पीडित भएका चारजना बालिकालाई काठमाडौँमा आश्रय दिइ पठन–पाठन भईरहेको उनले बताए । अभिभावक पत्ता नलागेकी एक बालिकालाई पोखराको बालगृहमा राखी आवश्यक शिक्षा तथा पालन पोषण भईरहेको उनको भनाइ छ । घरेलु हिंसाका धेरै घट्नाहरुमा पीडितहरुलाई आबश्यक सहयोग साथै कानुनी सहायता पनि पु¥याउदै आइरहेको उनको भनाइ छ ।

जनचेतनामूलक कार्य गरिरहे पनि रोजगारी दिने आश देखाएर दलालीले फकाइ फुलाइ लैजादै गरेकोले बेचबिखनको घटना बढेको सानाहात नेपालका सम्योजक जगत वाग्लेले बताए । यौनव्यापार, मानवअङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबरजस्ती श्रमका लागि हुने मानिसको अवैध व्यापार नै मानव बेचबिखन भएको वाग्लेको भनाइ छ ।

त्यस्तै माइती नेपालले आर्थिक वर्ष ०७५।७६ मा १ सय ३० जनालाइ नाकाबाट फर्काएर आफन्तकोमा बुझाएको छ । २४ जनालाइ भारतका विभिन्न स्थानबाट उद्दार गरी नेपाल ल्याएको प्रमुख गोविन्द घिमिरेले जानकारी दिए । त्यसैगरी एक सय १४ जनाको उजुरी परेकोमा ३४ जना फेला पारिएको उनले बताए । त्यस्तै आर्थिक वर्ष ०७६।७७ मा १ सय ५७ जनालाइ उद्दार गरिएको र एकवटा मुद्दा दर्ता भएको उनको भनाइ छ ।

काँकडभिट्टा नाकामा रहेको आफन्त नेपालले दुइ आर्थिक वर्षको अवधिमा ३ हजार ६ सय जनालाइ सूचना तथा परामर्श दिएको छ । संस्थाले १ सय ६ जनालाइ पारिवारिक पूर्नमिलन गरिएको बोर्डर इन्चार्ज मातृका गुरुङ्ले बताए । मानबबेचबिखनमा १० वटा मुद्दा दर्ता भएकोमा ६ जना कारागार गएको र बाँकी फरार रहेको उनले जनाए । प्रहरीको सहयोगमा १ सय ५८ जनालाइ उद्दार गरिएको उनले बताए ।

कसरी हुन्छ मानवबेचविखन
मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाई फकाई, प्रलोभनमा पारी झुक्याई, जालसाज , प्रपञ्च मिलाई जबरजस्ती , करकापमा पार्ने गरिएको जनाउँछ । त्यस्तै अपहरण , शरीर बन्धक राखी नाजूक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग पनि यसको कारण हो । साथै अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लैजाने गरेका हुन्छन् ।

त्यस्तै आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँ वा विदेशमा लैजाने वा अरु कसैलाई दिने मानव तस्करको काम हुन आउँछ । भारतसँग नेपालको खुल्ला सिमाना, पर्याप्त रोजगारीको अवसरको अभाव, गरिबी, बढ्दो राजनीतिक अस्थिरता,बाबुआमा संरक्षक नभएका र जोखिममा परेका महिला बालबालिकाहरु बेच–बिखन हुने गरेका छन् ।

चेलीबेटी बेचबिखनको मुख्यकारण गरीबी,सामाजिक बिभेद,अशिक्षा, अज्ञानता आदि हुन् । मानवबेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५ मा कानूनी व्यवस्था उल्लेख गरिएको छ ।