विराटनगर । विराटनगर महानगरपालिका– १३ का ३९ वर्षिय कलेजो प्रत्यारोपण विशेषज्ञ डा.सुजितकुमार साहको भारतको नयाँ दिल्लीमा भएको मृत्यु रहस्यमय रहेको भन्दै परिवारले छानविन गरि दोषिलाई कारवाहीको माग राखेका छन् ।
रहस्मय तरिकाले मृत्यु भएकोले घटनाको छानबिनका लागि नेपाल सरकार र सरोवाकारवाला निकायले गहन भूमिका निर्वाह गरि दोषीलाई कारवाहीको दायरमा ल्यानुपर्ने साहको परिवारको माग छ । भारतको हरियाणस्थित मेदान्त अस्पतालमा कार्यरत डा.साहको भदौ १६ गते ३ बजे नयाँ दिल्लीस्थित आफू बस्ने फ्ल्याटको भुइँमा शव फेला परेको थियो । डाक्टर साह विगत चार वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रुपमा कार्यरत थिए ।
डा. साह अर्पाटमेन्टमा एक्लै बस्दै आएका थिए । उनको हिमाचल प्रदेशकी लक्ष्मी शंख्या नामकी चिकित्सकसँग सन २०१० मा विवाह भएको थियो । उनीहरुकी ६ वर्षीया छोरी पनि छन् । छोरी मामा घरमा बस्दै आएकी छिन् । पछिल्लो समय साह र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नभएको र श्रीमतीले छोडपत्रका लागि दबाब दिँदै आएको साह परिवारको भनाई छ । छोराको रहस्यमय मृत्यु त्यहि घटनासँग जोडिएको हुन सक्ने भएकोले गहन रुपमा अनुसन्धान गरि छानविन हुनुपर्ने डाक्टर साहकी आमा फुलकुमारी देवी साहले बताइन् । उनलाई आत्महत्या गर्ने परिस्थितिमा श्रीमति लक्ष्मीको हात रहेको साह परिवारले आरोप छ । मृतक साहका काका वीरेन्द्र साहले घटना रहस्यम रहेकोले छानबिन र नेपाल सरकारले पहल गरिदिनुपर्ने बताए ।
डा.साहकी आमा फुलकुमारी र बुवा नरेन्द्रप्रसादले राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संघसंस्थाहरुमा पनि निवेदन दिएका छन् । ‘हत्या गरेको जस्तो प्रकृति देखिएको हुँदा सो घटनाको सत्यतथ्य छानविन गरी गराई न्याय दिलाइ दिन सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गर्दछु,’ निवेदनमा उल्लेख गरिएको छ ।
उक्त निवेदन विराटनगरस्थित इन्सेक कार्यालय, एलिट क्लब, मानव अधिकार सञ्जाल, पत्रकार महासंघ मोरङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र विराटनगर महानगरपालिकालाई पनि बोदार्थ पठाएको छ ।
डा.साहको रहस्यमय मृत्यु रहेको भन्दै नेपाल चिकित्सक संघले छानबिनको माग गरेको छ । एक विज्ञप्ति निकालेर संघले घटनाको छानबिनका लागि नेपाल सरकार र सरोवाकारवाला निकायले गहन भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संघका महासचिव डा.बद्री रिजालले उक्त घटना रहस्यमय भएको र के कारणले घटना भएको भन्नेबारेमा अथार्थ विवरण बाहिर ल्याउन माग गरेका छन् । संघले डा.साहको निधनमा गहिरो दुख व्यक्तगर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
