विराटनगर/ सुनसरी देवानगञ्ज गाउँपालिका–३ की २२ वर्षीया रिङ्की मेहताको शङ्कास्पद मृत्यु भएको घटनामा पक्राउ परेका आरोपीलाई प्रहरीले हाजिर जमानतमा छाडेपछि पीडित परिवार सशङ्कित बनेको छ ।
सुनसरी प्रहरीले नियन्त्रणमा लिएको देवानगञ्ज–४ का रमेशकुमार मेहतालाई प्रहरीले ‘हाजिर जमानत’ मा छाडेपछि प्रहरीप्रति नै पीडित परिवार सशङ्कित भएको हो । प्रहरीले बोलाएको खण्डमा उपस्थित हुने गरी छाडिदिएको हो । भदौ ५ मा रिङ्कीले देवानगञ्ज गाउँपालिका–४ स्थित मेहताको घरको बरण्डामा रिङ्की झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सोही दिन प्रहरीले नियन्त्रणमा लिएको रमेशलाई अदालतमा म्याद थप गरी भदौ ९ मा हाजिर जमानतमा छोडिदिएको हो ।
रिङ्कीको शङ्कास्पद मृत्यु भएको भन्दै पीडित परिवारले भदौ १० मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा अनुसन्धान गरी दोषीलाई कारबाहीको माग राख्दै ठाडो उजुरी दर्ता गराएका थिए । आरोपीलाई नियन्त्रणमा लिएको चारदिनपछि अनुसन्धान पूरा नगरी छोडिदिएको उनीहरूको आरोप छ । ‘घटना भएको दिन प्रहरीले रमेशलाई नियन्त्रणमा लिएको चार दिनपछि छोडिदियो’ रिङ्कीका दाजु जयप्रकाशले मेहताले भने, ‘अनुसन्धान पूरा नगरी आरोपीलाई यसरी छोडिदिँदा हामीले न्याय नपाउने हो कि भन्ने महसुस हुन थालेको छ ।’ नियन्त्रणमा लिएका आरोपी बाहिर गएपछि प्रमाण लोप गराउन सक्ने उनीहरूको भनाइ छ । ‘घटना शङ्कास्पद छ’ उनले भने, ‘अनुसन्धान पूरा नगरी आरोपीलाई यसरी छोड्नु हुँदैनथ्यो ।’
रमेशले रिङ्कीलाई भगाएर विवाह गरेको बताए पनि आफन्तले रिङ्की अविवाहित रहेको उनीहरूको भनाइ छ । ३ भदौमा छोरीलाई रमेशले अपहरण शैलीमा भगाएको बाबु जयकिशोर महतोको आरोप छ । ‘छोरीको अर्को केटासँग विवाहको कुरा चलिरहेको थियो’ रिङ्कीका बाबु जयकिशोरले विराटनगरमा सोमबार पत्रकार सम्मेलनमा भने, ‘छोरीको अर्को केटासँग विवाह हुने रिसले छोरीको हत्या गरेको हुनसक्छ । प्रहरीले गहन अनुसन्धान गरिदिनुपर्दछ ।’ कर्तव्य गरेर मारेको भए पनि घटनालाई आत्महत्या देखाउने प्रयास गरेको उनीहरूको आरोप छ । ‘छोरीलाई अपहरण शैलीमा भगाएको दिन रमेशले घरमा ल्याएका रहेछन् । त्यस दिन रमेशसहितका परिवारले मलाई छोरीसँग भेट्न पनि नदिई फर्कायो’ रिङ्कीका बाबु जयकिशोरले भने, ‘यसरी मलाई भेट्न नदिएपछि म आफ्नो घर फर्किएँ । त्यसको भोलिपल्ट छोरी झुण्डिएको अवस्थामा शव भेटिएको खबर सुन्दा स्तब्ध भएँ ।’

पीडित परिवारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन् । उनीहरूले छोरीको मृत्यु शङ्कास्पद देखिएकोले प्रहरी प्रशासनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरी न्याय दिलाइदिन सरोकारवाला निकायसँग हारगुहार गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले ठाडो उजुरी परेकोले यस घटनाका अनुसन्धान भइरहेको जानकारी दिए । ‘प्रमाण जुटाएर सबै कोणबाट हामीले अनुसन्धान गर्दै आएका छौं’ एसपी थापाले भने, ‘पोष्टमार्टम रिपोर्ट पनि हेरेर हामीले अनुसन्धान अगाडि बढाएको छौं ।’ यस घटनामा नियन्त्रणमा लिएकालाई म्याद थप गरी हाजिर जमानतमा छोडिएको भए पनि अनुसन्धान प्रक्रिया नरोकिएको एसपी थापाको भनाइ छ ।