- अनिल श्रेष्ठ । विराटनगर
विराटनगरमा सङ्गठित अपराधको धन्दा चलाउने समूह मध्येका एक अभियुक्तले हुलिया बदलेर अपराध कर्म गरिरहेको खुलेको छ ।
विराटनगरका व्यापारीसित ज्यान मार्ने धम्की दिँदै रकम असुल्ने समूहमध्येका सप्तरी घर भई विराटनगरमा डेरा गरी बस्ने २७ वर्षीय नन्दु भनिने नन्दकिशोर साहले हुलिया बलदलेर अपराध कर्म गरिरहेको पाइएको हो । मोरङ प्रहरीले साहसहित ६ जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको छ ।
खियाउँटे शरीर र दाह्री पालेका नन्दकिशोरको टाउँकोमा कपाल छैन । साह २७ वर्ष उमेरका युवा भए पनि कपाल नहुँदा उनलाई पाका उमेरको झैं देखिन्छन् । हुलिया बदल्न २० हजार रुपैयाँमा नक्कली कपाल लगाएको देखिन्छ । ‘अपराध कर्म गर्दा नक्कली कपाल खोलेर पाका उमेर जस्तो भएर नन्दकिशोर हिँड्ने गरेका थिएँ,’ अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकृतले भने, ‘अपराधिक गतिविधि गरेपछि नक्कली कपाललाई हेयर कट गरेर युवा जस्तो बनेर हिँडेको पाइयो ।’
पक्राउ परेका साहसहितको समूहले विराटनगरका दुई जना व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै १०–१० लाख रुपैयाँ चन्दा मागेका थिए । २५ भदौमा चन्दा मागेकामध्ये विराटनगरको देवकोटाचौकस्थित गुट्खा, चालम, तेलको डिलर भएका व्यापारीले दुई पटक गरी पाँच लाख रुपैयाँ दिएको प्रहरी अनुसन्धानमा देखिन्छ ।

ती व्यापारीबाट असुली गरेको पैसा लिन नन्दकिशोर हुलिया बदलेर जाने गरेको प्रहरीले जनाएको छ । अरूबेला नक्कली कपाल लगाएर बस्ने नन्दकिशोर व्यापारीलाई धम्की दिँदै असुलेको पैसाँ लिन नक्कली कपाल खोलेर असली रूपमा जाने गरेका थिए । ज्यान मार्ने धम्की दिँदै ती व्यापारीबाट असुली गरेको पैसा लिन नन्दकिशोर पहिलो पटक विराटनगरस्थित गुद्री बजारमा पुगेर १ लाख र दोस्रो पटक नोबेल अस्पताल जाने नहरमा ४ लाख रुपैयाँ लिएको अनुसन्धानमा देखिएको ती प्रहरी अधिकारी बताउँछन् ।
चन्दा मागेको बेला व्यापारीले पैसा नदिएपछि मनोवैज्ञानिक रूपमा तर्साउन व्यापारीको घरको पर्खालमा गोली पड्काउने गरेको पाइएको थियो । गोली पड्काउने कार्यमा संलग्न २८ वर्षीय एलेक्स भनिने रवीन शर्मासँग नन्दकिशोर जाने गरेका थिए । त्यसबेलामा पनि नन्दकिशोर नक्कली कपाल खोलेर जाने गरेका प्रहरीले जनाएको छ । अपराध कर्ममा लाग्दा कसैले पनि नचिनोस् भनेर हुलिया बदल्ने गरेको साहले बयानको क्रममा प्रहरीलाई बताएका छन् ।
विराटनगरका दुई जना व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै पैसाँ असुली समूहका मुख्य नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले मोरङको कटहरी गाउँपालिका–२ आर्दशनगरका २६ वर्षीय किसन साह, सोही ठाउँका २८ वर्षीय एलेक्स भनिने रवीन शर्मा, २७ वर्षीय अभिषेक राय र भारतको बिहार राज्य सीतामणि जिल्ला घर भई विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडा पसलमा काम गर्ने २७ वर्षीय राजु साह छन् । पक्राउ परेका अभियुक्तहरूलाई मोरङ प्रहरीले गत बुधबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको थियो ।
यो समूहका मुख्य नाइके अभिषेश राय हुन् । रायले व्यापारीहरूलाई फोन गरी ज्यान मार्ने धम्की दिँदै चन्दा असुल्ने गरेको खुलेको थियो ।