धरान । अवैध रूपमा भारततर्फ लाँदै गरेको अवस्थामा सेतो मटर र पिकअप भेनसहित एक जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी देवानगञ्ज गाउँपालिका–६ सडकखण्डमा अवैध रूपमा लाँदै गरेको अवस्थामा मोरङ जहदा गाउँपालिका–३ का पवन राजवंशीलाई ८० बोरा सेतो मटरसहित पक्राउ गरेको हो ।

प्रहरीले को १ च ८३६० नम्बरको पिकअप भेन पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय देवानगञ्ज संयुक्त प्रहरी टोलीले पक्राउ गरिएको छ ।

पक्राउ गरिएको पिकअप भेन, चालकसहित सामग्री कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोशीब्यारेज पठाइएको छ । प्रहरीले करिब ६ लाख रुपैयाँ बराबरको सामग्री बरामद गरेको हो ।