इनरुवा / छिमेकीको खुकुरी प्रहारबाट घाइते इनरुवा ८ का ६५ वर्षिय वृद्ध चन्द्रबहादुर कोइरालाको मृत्यु भएको छ । छिमेकी बलबहादुर खड्काले असोज ३ गते साँझ खुकुरी प्रहार गर्दा कोइराला गम्भिर घाइते भएका थिए ।
बिराट नर्सिङ होममा उपचार पश्चात केहि दिन अघि घर ल्याइएका उनको आज मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
आपसी विवाद हुँदा आवेगमा आएका खड्काले घरबाट खुकुरी ल्याएर वृद्ध माथि अन्धाधुन्द प्रहार गरेका थिए । सो क्रममा बृद्धको खुट्टा सहित शरीरका विभिन्न भागमा गम्भिर चोट लागेको थियो ।
खुकुरी प्रहारको क्रममा श्रीमानलाई जोगाउन पुगेकी कोइरालाकी पत्नी समेत घाइते हुन पुगेकी थिइन् । घटनामा संलग्न खड्लाई तत्कालै नियन्त्रणमा लिएको प्रहरीले त्यस लगत्तै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी कार्वाहीको प्रकृया अघि बढाएको थियो । प्रहरी नियन्त्रणमा रहेका खड्काले घटना स्विकारी सकेका छन् ।