इनरुवा / जिल्ला प्रशासन कार्यालय सुनसरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । नजिकिदो चाड लक्षित जारी सुरक्षा योजनामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आवश्यक मापदण्ड लागु हुने जनाइएको छ ।
प्रशासनले जनाए अनुसार विगतका वर्षमा मठ मन्दिरमा हँदै आएको पुजाआजा यस पटक भने निषेध गरिएको छ । दशैंमा शक्ति पिठहरुमा हुने भीडलाई नियन्त्रण गर्नकालागि सर्वसाधारणको प्रवेश निषेध गरिएको सुनसरी प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार यस पटकको चाडपर्वमा मठ मन्दिरहरुमा एकजना पुजारी मात्रले पुजा गर्न पाउने छन् । मन्दिर, मस्जिद तथा गुम्बाहरुमा नित्य पुजाआजा एकजना मात्रले गर्ने बाहेक सर्वसाधारणका लागि पुजा, पार्थना, नमाज र ध्यान गर्न निषेध गर्ने गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।
पोखरेलका अनुसार दशैं तिहार र छठ पर्वमा मठ मन्दिरमा भक्तजनको भीड लाग्ने हुँदा त्यसले कोरोनाको जोखिम बढाउने भएकाले सावधानीकालागि उक्त व्यवस्था लागु गर्ने निर्णय गरिएको हो ।

त्यसका सासथै सुनसरी प्रशासनले दशैं, तिहार तथा छठ पर्व आ–आफ्नो घरमा परिवारसँग मात्र मनाउन भनेको छ । उसले सो अवधिमा मेला, जात्रा, भजन किर्तन समेत नर्गन जिल्लावासीमा आग्रह गरेको छ । सुनसरी प्रशासनले जारी गरेको सुचनामा भनिएको छ, ‘अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कौं । हिड्नै पर्ने भए अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरौं ।’
यसैगरी प्रशासनले दुर शिक्षा कार्यक्रम संचालन गर्ने सम्वन्धमा समेत निर्णय गरेको छ । कोभिड रोकथाम तथा नियन्त्रणलागि आवश्यक उपाय अवलम्बन गरी त्यस्ता कार्यक्रम संचालन गर्न पाइने प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी निर्देशिकाको परिधि भित्र रहेर दुर शिक्षा जस्ता कक्षा संचालन गर्न पाइने छ । स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्ने गरी स्थानीय तहको निगरानीमा त्यस्ता कक्षा संचालन गर्न पाइने प्रशासनले सुचना मार्फत जानकारी गराएको छ ।
त्यसैगरी सुनसरी प्रशासनको पछिल्लो निर्णय बमोजिम अब सुनसरीमा स्वास्थ्य मापदण्ड अनुरुप दैनिक तथा साप्ताहिक हाट बजार समेत सञ्चालन गर्न पाइने भएको छ । त्यस्ता हटिया खुला स्थानमा हुनु पर्ने भनिएको छ । जसको निगरानीको जिम्मेबारी भने प्रहरीको सहयोगमा स्थानीय तहले लिनु पर्ने उल्लेख छ ।
बजार पसल भने साँझको ८ बजेपछि खोल्न नपाइने प्रशासनले जनाएको छ । तोकिएको समयमा खुलेका बजार पसलले स्वास्थ्य मापदण्डको पालना गरेको हुनु पर्ने बताइएको छ । नियम उल्लंघन गरे कानुन बमोजिम कार्वाही गरिने प्रशासन द्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
त्यसैगरी संचालनमा आएका छोटो तथा लामो दुरीका सवारी साधनले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको बारे अनुगमन गर्ने र अटेर गर्नेको हकमा कार्वाही गर्न सम्वन्धित कार्यालय र ट्राफिक प्रहरीलाई प्रशासनले निर्देशन दिएको छ ।
यस्तै प्रशासनले सरकारी कार्यालयको सेवालाई निरन्तरता दिने र स्वास्थ्य मापदण्डलाई पालना गर्ने र गराउने सम्वन्धमा समेत निर्णय गरेको छ । उसले कार्यालयमा संक्रमण देखिए सम्वन्धित शाखा मात्र बन्द गरी अन्य सेवा यथावत राख्न भनेको छ ।
प्रशासनले स्थानीय तहले आफु मातहतमा स्वास्थ्य मापदण्ड पालना गराउन पहल गर्ने र आवश्यक्ता अनुरुप अनुगमनको व्यवस्था मिलाउनु पर्ने भनेको छ । कोभिडको संक्रमण बढ्दो क्रममा रहेकाले मातहतका निकायलाई सोही अनुरुपको बन्दोवस्ती मिलाउन समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सबै स्थानीय तहलाई पूर्ववत निर्णय अनुरुप संचालनमा ल्याइएको आइसोलेसन संचालन कोषको खातामा तीन दिन भित्र रकम जम्मा गर्न समेत भनेको छ । प्रशासनले उक्त निर्णयहरु असोज २५ गतेबाट लागु हुने जनाएको छ ।
यसैबिच सुनसरी प्रशासनले कार्यालयमा हुने भीड व्यवस्थापन गर्न हरेक दिन दुई पालिकाको मात्र सेवा प्रवाह हुने नियम लागु गरेको छ । जसअनुसार आइतबार जिल्ला प्रशासनको सेवा धरान र इटहरी उपमहानगरपालिका क्षेत्रका सेवाग्राहीका लागि मात्र खुल्ला रहने छ ।
सोमबार रामधुनी र भोक्राहा, मंगलबार बराहक्षेत्र र हरिनगर, बुधबार कोशी र देवानगञ्ज, बिहिबार दुहवी र गढीको सेवा दिइने कार्यालयले जनाएको छ ।
शुक्रबार भने इनरुवा र बर्जुका लागि कार्यालयको सेवा उपलब्ध रहने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नागरिकता र प्रतिलिपि भने टोकन प्रणालीबाट दैनिक अधिकतम ४० जनालाई सेवा दिइने कार्यालयले सुचना मार्फत जनाएको छ ।