धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडीमा उपचार गर्न आउने बिरामीलाई लक्षित गर्दै ‘अनलाइन रजिस्ट्रेसन एण्ड टिकटिङ’ सेवा सञ्चालन गरेको छ ।
यो सेवा सोमबार (आज) बाटै सुरु हुँदै छ । कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै अनलाइन सेवा सुरु गरेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । त्यसका लागि बीपी प्रतिष्ठानले आफ्नो मोबाइल एप निर्माण गरेको छ । मोबाइल एपमार्फत आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘एन्ड्रोइडको प्लेस्टोरमा गई बीपीकेआइएचएस एप डाउनलोड गर्नुहोला ।’ त्यसमा व्यक्तिगत विवरण भर्ने र कुन विभागमा आफ्नो उपचार गर्नुपर्ने हो सो विभागको नाम दर्ता गरी ८ बजेभन्दा अगाडि नै टिकट गर्नुपर्ने उल्लेख गरेको छ । ८ बजेभन्दा पछाडि दर्ता गरिएमा भोलिपल्टका लागि मात्रै स्वीकृत हुने विज्ञप्तिमा जनाइएको छ ।
अनलाइन टिकटिङ गरेका बिरामीले ओपिडी काउण्टरबाट आफ्नो ओपिडी कार्ड लिएर जानुपर्ने प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले जानकारी दिए । दैनिक नियमित ओपिडीका लागि मात्रै यो सुविधा प्रदान गरिएको छ ।