धरान । सुनसरीका विभिन्न स्थानमा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
सुनसरीको भोक्राहा गाउँपालिका–५ पूर्वपश्चिम राजमार्गमा प्र२–०१–००१ प १६०७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा सोही ठाउँका एक वृद्धको ज्यान गएको छ । ६५ वर्षीय सोकिल मियाँलाई ठक्कर दिँदा घाइते बनेका उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा आइतबार साँझ मृत्यु भएको हो । मोटरसाइकल र चालक सिरहा लहान–७ का १९ वर्षीय नरेन्द्रकुमार दासलाई नियन्त्रणमा लिइएको छ ।
त्यस्तै सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरमा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । को १७ प ६९८१ नम्बरको मोटरसाइकल चालक मोरङका ७० वर्षीय कृष्ण दाहालको घटनास्थलमै ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने मे १ ख २४९४ नम्बरको तेल ट्यान्करका चालक इलाम नगरपालिका ९ का २४ वर्षीय निरस हुमागाईंलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ । ट्यान्कर चालकको सवारी चालक अनुमति पत्रसमेत नभएको पाइएको छ ।
सुनसरीकै कोशी गाउँपालिका १ खुनिया खोला नजिकै ना ५ ख ५१०१ नम्बरको खाली कार्टुन लोड गरेको ट्रक आफै अनियन्त्रित भई पुलबाट खस्दा पहिचान नखुलेको सवार यात्रु करिब ३३ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ । महिलालाई सोही ट्रकले किचेका कारणले ज्यान गएको हो । चालक रामधुनी नगरपालिका लालपुरका ३० वर्षीय अनुज चौधरी पनि गम्भीर घाइते बनेका छन् । उनलाई विराटनगरका विराट नर्सिङ होममा उपचारका लागि पठाइएको छ । घटनास्थलमा मृतक महिलाको पहिचान गरिने कार्य भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।