विराटनगर । सट्टाबाजीमा हारेको पैसाँ असुल्न विराटनगरका पिन्टु भनिने सञ्जय सिहंललाई बन्धक बनाएर कुटपिट भएको छ । सन्जयलाई रोनाल कँडेलको समूहले कृष्ण होटलको कोठामा बिहीबार राति बन्धक बनाएर कुटपिट गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् ।
केही दिन अगाडि सट्टाबाजमा कँडेलको समूहले १४–१५ लाख रुपैयाँ हारेको स्रोतको दाबी छ । कँडेल नेपाली कांग्रेस निकट तरुण दल विराटनगरका नेता हुन् । ‘पैसाँ असुल्न कँडेलका समूहले कृष्ण होटलमा बन्धक बनाएर कुटपिट गर्दै तीन वटा चेकमा ८ लाख रुपैयाँ दरले असोज १५ र २१ गते मिति उल्लेख गर्दै लिएर गएको सञ्जयले राखेको स्टाटसमा उल्लेख छ ।’ सञ्जयलाई कुटपिट गर्न विराटनगरमा सुनचाँदीको व्यापार गर्दै आएका विकास सोनीको गाडी लिएर गएका थिए । रोनालले गाढी मागेपछि विकासले पनि सहज रूपमा दिएका थिए । सन्जयमाथि सट्टाबाजी खेलाउने गरेको आरोप छ ।
कँडेलले कुटपिट गरेपछि होटलको खर्च तिर्न भन्दै भोलिपल्ट बिहान ५० हजार रुपैयाँ मागेको फेसबुक पोस्टमा उल्लेख छ । पैसा दिने बाहनामा आफू भागेर बचेको सिंघलले उल्लेख गरेका छन् । प्रहरी स्रोतका अनुसार इण्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी लगाउँदा हारेको रकम उठाउनका लागि सिंघलमाथि कुटपिट भएको देखिन्छ । सिंघल र कँडेल दुवै जना सट्टेबाजका खेलाडी रहेको प्रहरी दाबी छ ।
सट्टेबाजीमा पैसा हारेपछि दुई जनाबीच हिसाब नमिल्दा घटना भएको हुनसक्ने बताइएको छ । घटनाको विषयमा बुझन प्रहरीले सञ्जय सिंह र व्यापारी बिकास सोनीलाई मोरङ प्रहरीमा ल्याएर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘घटना बाहिर आएपछि सोधपुछको लागि बोलाएको हो,’ डिएसपी राईले भने, ‘हामीले यस घटनामा अनुसन्धान गर्दै आएको छौं ।’

बन्धक बनाएर कुटपिट गरेको आरोप लागेको रोनाल कँडेल भने बिरामी भएर नोबेल अस्पताल रहेको मोरङ प्रहरीले जनाएको छ । कँडेलमाथि पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
विराटनगरमा सट्टेबाज खेलाउने गिरोह सक्रिय
प्रदेश १ को राजधानी रहेको शहर विराटनगरमा सट्टेबाज खेलाउने गिरोह सक्रिय रहेको पाइएको छ ।
भारतीय सट्टेबाजका गिरोहसँग मिलेर जारी इण्डियन प्रिमियर लिग क्रिकेट र अन्तर्राष्ट्रिय विभिन्न खेलहरूमा सट्टेबाज खेलाउने गिरोह सक्रिय भएको पाइएको हो । आइपीएलमा नेपालको तर्फबाट क्रिकेटको सट्टाबाजी चलाउने गिरोहमा व्यापारीको पनि संलग्न हुने गरेको पाइएको छ । क्रिकेट खेलमा विराटनगरमा बसेर सट्टाबाजीको अवैध धन्दा चलाएको आरोपमा मोरङ प्रहरीले असोज १४ गते व्यापारीसहित विराटनगर तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ भट्टीमोडका ३८ वर्षीय मुन्ना भनिने सत्यजित साह, विराटनगर–१७ रानीका ४२ वर्षीय जगदीश साह र विराटनगर १५ रानीका ३८ वर्षीय बैजनाथ साहलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका जगदीश व्यापारी हुन् । उनी र बैजनाथ साह मिलेर प्रविधिमा दख्खल राख्ने मुन्न भन्ने सत्यजित साहको घरमा सट्टाबाजी खेलाउने क्रममा पक्राउ परेका थिए ।
प्रहरी हिरासतमा रहेका जगदीशलाई कोरोना संक्रमण देखिएपछि अहिले उनी उपचारको लागि विराट टिचिङ्ग हस्पिटलको आइसोलेशनमा उपचाररत छन् । मुन्ना भन्ने सत्यजित साहको घरमा मोबाइल फोनमार्फत आइपिएल खेलको सट्टाबाजी भइरहेको विशेष सूचना आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले साहको साथबाट सट्टाबाजी खेलाउने गरेको ६० हजार रुपैयाँ पनि बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
नेपालमा सट्टाबाजीको धन्दामा अन्तर्राष्ट्रिय संगठित गिरोह नै सक्रिय हुने गरेको यस क्षेत्रका जानकारहरू बाताउँछन् । पक्राउ परेका गिरोहले खेलाउने खट्टाबाजीमा विराटनगरका नाम चलेका व्यापारीले बाजी लगाउने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिले भारतमा सुरु भइरहेको आइपिएलमा दैनिक विराटनगरमा लाखौंको हारजित हुने गरेको छ ।
मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले सट्टाबाज धन्दामा संलग्नहरूमाथि निगरानी रहेको बताए । ‘तीन जनालाई पक्राउ पनि गरिसकेका छौँ,’ उनले भने, ‘उनीहरूको नेटवर्कमाथि अनुसन्धान भइरहेको छ ।’ प्रहरीको अध्ययन अनुसार विराटनगरमा तीन–चार वटा समूहले सट्टेबाज धन्दा चलाइरहेका छन् । तीमध्ये अहिले पक्राउ परेका नेटवर्कले चलाएको सट्टाबाजीमा पनि थुप्रैले बाजी हारजित गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । हारजित गर्ने बढी व्यापारी हुने गरेको प्रहरी स्रोतको दाबी छ ।
पक्राउ परेका समूहले विभिन्न एजेन्टमार्फत बाजी खेलाउँदै आएका छन् । सोही समूहका गिरोहलाई प्रहरीले दुई सातादेखि गरेको निगरानी पछि पक्राउ गरेको हो । उनीहरूले मोबाइलमा बाजीको रेट आदानप्रदान भएको एसएमएसहरू फेला परेको प्रहरीले जनाएको छ ।
आइपिएलमा सट्टेबाजको ठूलो कारोबार गर्ने गरेका छन् । यसअघि यो समूहले विराटनगरको होटेलमा बसेर सट्टाबाजी खेलाउँदै आएको थिए । अहिले कोरोना संक्रमणले होटलहरू बन्द रहेकोले घरमा बसेर खेलाउने क्रममा पक्राउ परेका हुन् । स्रोतका अुनसार सट्टाबाजीका संगठित गिरोहले बैंक, कलेज तथा व्यवसायी समूहमा एजेन्ट बनाएर बाजी खेलाउँदै आएका छन् । एजेन्टले कमिसन पाउने भएकाले खेल्नेले जिते पनि वास्तविक रेटभन्दा थोरै कमाउँछन् ।
उनीहरूको दिल्ली, मुम्बई, दुबईसम्म सट्टेबाजसँग सम्बन्ध रहेको प्रहरीले जनाएको छ । सट्टेबाजीमा हुने जित र हारको बीचमा नेपाली सट्टेबाजहरूले निश्चित कमिशन पाउने गर्दछन् । विराटनगरमा सक्रिय यी सट्टेबाजमार्फत कति जनाले कति रकम लगानी गरे त्यसबारेमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।