धरान । अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने ‘कौन बनेगा करोडपति’ कार्यक्रममा सिनियर अफिसर भएको परिचय पत्र देखाएर इमोमार्फत ठगी गर्ने नेपालमा प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ ।
इमोमार्फत २५ लाख रुपैयाँको चिठ्ठा परेको भन्दै ठगी गर्ने सिरहाका अरविन्द्रकुमार कामतीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । उनी यो ठगीमा संलग्न नेपाल हेर्ने प्रतिनिधिको रूपमा बताइन्छ । भारतीय नागरिक रानाप्रताप सिंहले चिठ्ठा परेको जानकारी गराएका थिए ।
इटहरीका २५ वर्षीय एक युवाको मोबाइलमा इमोमा २५ लाख रुपैयाँ परेको भन्दै भारतबाट फोन गरी सिंहलाई आइएमआईमा रकम पठाउनका लागि सिफारिस गरेका थिए । ती ठगले स्टेट बैंक अफ इण्डियाको परिचय पत्रसमेत पीडितको इमोमा पठाएका थिए । सुनसरी प्रहरीका अनुसार पीडितलाई विश्वास दिलाउनका लागि थप ‘कौन बनेगा करोडपति’ को सिनियर अफिसरको परिचय पत्रसमेत पठाएर ठगीको प्रयास गरेका थिए ।
उनलाई रकम परेको सूचना असोज २४ गते दिइएको थियो । २५ गते रकम २५ लाख रुपैयाँको ट्याक्स बुझाउनका लागि भन्दै २२ हजार ५ सय रुपैयाँ अरविन्द्रलाई पठाउनका लागि सिंहले पीडितलाई जानकारी गराएका थिए । रकम पठाएको केही समय लगत्तै चिठ्ठा परे बापतको २५ लाख रुपैयाँको चेकमा हस्ताक्षर गर्ने अधिकारीलाई ५५ हजार रुपैयाँ दिनुपर्छ भन्दै भनेपछि पीडित आफू ठगिएको थाहा पाएका थिए ।

पीडितले तत्काल इलाका प्रहरी कार्यालय इटहरीलाई जानकारी गराएपछि प्रहरीले सोही सूचनाको आधारमा सिरहाबाट असोज २५ गते कामतीलाई पक्राउ गर्न सफल भएको हो । कामतीले २५ गते नै रकम निकालेको आइएमईबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला अदालत सुनसरीबाट कामतीलाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । ठगिएका युवा इटहरी–२ का हुन् । उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले इमो, म्यासेञ्जर, फेसबुकमा चिठ्ठा प¥यो भन्दै कसैले ठगी गर्न खोजेमा तत्काल प्रहरीलाई जानकारी गराउनका लागि पनि अनुरोध गरेको छ ।