मानव शरीर र वातावरणबीच घनिष्ठ सम्बन्ध रहेको छ । जसकारण वातावरणमा आएको फेरबदलको प्रभाव हाम्रो स्वास्थ्यमा सजिलै देखिन्छ । अझै जाडोयाममा छालासम्बन्धी विभिन्न समस्याहरू देखिन्छन् । शरीरको बाहिरी अङ्ग छाला नै भएकाले वातावरणीय परिवर्तनको सबैभन्दा छिटो प्रभाव यसैमा देखिन्छ । तसर्थ, हामीले जाडोयाममा छालामा कुनै पनि समस्या नदेखियोस् भन्नाका लागि छालाको उचित स्याहार–सुसार गर्नुपर्छ ।
जाडोयाममा छालामा देखिने साझा समस्या जाडोयाममा विशेषगरी सुख्खापनकै कारण छालामा विभिन्न समस्याहरू देखिन्छन् । गर्मीयाममा मोइस्चराइजर हुने छाला पनि जाडोयाममा सुख्खा हुने गर्छ । कतिपय मानिसहरूको छाला प्राकृतिक एवम् वंशाणुगत रूपमै सुख्खा वा रुखो प्रकृतिको हुन्छ । यस्तोप्रकृतिको छाला जाडोयाममा झन् बढी सुख्खा हुनुका साथै चिलाउनेसमेत हुन्छ । चिलाउने समस्याको मुख्य कारण भनेकै सुख्खापन हो ।
यसैगरी अन्य समयमा पनि सुख्खापनकै कारण छालामा ‘एक्जिमा कण्डिसन’ हुन्छ । यसले छाला चिलाउने तथा सुन्निने समस्या देखिन्छ । वृद्धवृद्धाहरूमा छाला प्राकृतिक रूपमा नै सुख्खा हुने हुँदा त्यस उमेर समूहका व्यक्तिमा जाडोयाममा एक्जिमा कण्डिसन, एलर्जी र अन्य किसिमका छालासम्बन्धी समस्याहरू देखिने सम्भावना अन्य समयको तुलनामा बढी हुन्छ । साथै, यस याममा छालाको सुख्खापनकै कारण अधिकांश व्यक्तिको हातखुट्टा, ओठ, गाला तथा कुर्कुचा फुट्ने समस्या हुन्छ ।
समाधानको उपाय
क्रिमको प्रयोगः चिसोले छालामा सुख्खापन बढाउने भएकाले चिकित्सक एवम् सम्बन्धित विज्ञको सल्लाह सुझावमा सुख्खापन हटाउने उपयुक्त फ्रुट क्रिम, फेस क्रिम वा बडी क्रिमको प्रयोग गर्न सकिन्छ । अधिकांशले यस समयमा लोसनको प्रयोग पनि गर्ने गर्छन् ।
तर, तुलनात्मक रूपमा लोसनमा पानीको मात्रा बढी हुने भएकाले यो पातलो हुन्छ र यसले उचित रूपमा छालालाई सुख्खापनबाट राहत दिन सक्दैन । त्यसैले पनि लोसनको प्रयोग गर्मीयाममा उपयुक्त रहे तापनि जाडोयाममा भने ओयल बेस क्रिमको प्रयोग नियमित गर्नुपर्छ । यस्तै राति सुत्ने समयमा अधिकांशको खुट्टा धुने बानी हुन्छ ।
हात, खुट्टा धुँदा प्रयोग गरिने कतिपय साबुनले पनि छालालाई सुख्खा बनाउँछ । त्यसैले हात, खुट्टा धोइसकेपछि क्रिमको प्रयोग गर्दा छाला सुख्खा हुने र फुट्ने समस्याबाट जोगिन सक्छ । तेलको प्रयोग क्रिमसँगै शरीरको सुख्खापन हटाउने अर्को विकल्पको रूपमा हामीले तेलको प्रयोग पनि गर्न सक्छौं । छालामा हुने सुख्खापनकै कारण जाडोयाममा छालासम्बन्धी विभिन्न समस्या देखापर्छ । तसर्थ हात, खुट्टा धोएपछि वा साबुनको प्रयोग गरिसकेपछि हामीले अनिवार्य रूपमा सम्भव भए ओयल क्रिम वा नभए तेलले छालामा मालिस गर्नुपर्छ ।
दूषित वातावरणबाट टाढा रहनेः धुलो धुवाँमा हुने फोहोरले छालालाई कुरूप बनाउँछ । यसमा भएका धुलो एवम् फोहोरका कणहरू छालामा टाँसिदा यसले छालामा विभिन्न किसिमका समस्याहरू उत्पन्न गराउँछ । यसकारण पनि धुलो धुवाँबाट टाढै रहने प्रयास गर्नुपर्छ । सरसफाइमा ध्यान दिनेः जाडोयाममा अधिकांश व्यक्तिहरू अल्छी बन्छन् । यस समयमा राम्ररी हातमुख नधुने र समयमै ननुहाउनेहरूमा छालासम्बन्धी समस्या देखापर्छ । लामो समयसम्म ननुहाउने एवम् सरसफाइ नगर्ने प्रवृत्तिले छालामा फोहोर जम्न गई यसले छालासम्बन्धी विभिन्न समस्याहरू निम्त्याउँछ । त्यसैले हामीले यस समयमा सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
उचित आहारको सेवनः छालालाई हाम्रो स्वास्थ्यको ऐना मानिन्छ । अर्थात् स्वास्थ्यमा कुनै पनि समस्या भए वा नभएको सङ्केत छालाले दिन्छ । शरीर स्वस्थ राख्दै छालालाई सुन्दर एवम् चम्किलो राख्नको निम्ति पनि व्यक्तिले उचित आहारको सेवन गर्नुपर्छ र यसका लागि यस समयमा हामीले भिटामिन सी युक्त आहारको प्रयोग गर्नुपर्छ ।
साभारः हेल्थ आवाज