विराटनगर। विराटनगर–१३  स्थित ताजुल ईस्लाम नमुना आधारभूत विद्यालय (मदरसा) कार्यरत एक दर्जन शिक्षकहरूले तलब नपाएपछि आन्दोलित भएका छन् । १२ जना शिक्षकले दुई वर्षदेखि तलब नपाएपछि आन्दोलित भएका हुन् । 

उनीहरूले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी दुई वर्षदेखि तलब नपाएको गुनासो गरे । ‘मदरसामा पठाएको दुई वर्ष पूरा भयो’ शिक्षक गायत्री ठाकुरले भनिन्, ‘अहिलेसम्म तलब पाएको छैन । अहिले पनि नियमित विद्यालयमा पढाउन भने जाने गरेको छु ।’

यहाँ कार्यरत एक दर्जनभन्दा बढी शिक्षकले तलब नपाएपछि विराटनगर महानगरपालिका घेराउ गर्ने शिक्षक ठाकुरले चेतावनी दिइन् । ‘यतिका दिनसम्म हामीले तलब आउँछ कि भनेर पखेर बस्यौं । अब पनि हामीले तलब पाएनौं भने महानगरपालिका घेराउ गरी आन्दोलनमा उत्रिनेछौं’ –उनले भनिन् ।

व्यवस्थापन समितिका अध्यक्ष हैदर अली भएपछि मदरसामा उत्पन्न भएको विवादले दुई वर्षदेखि शिक्षक र शिक्षिकाहरूले तलब नपाएका हुन् । तलब नपाउँदा आइपरेको समस्या लिएर महानगरपालिकाको शिक्षा महाशाखा प्रमुखलाई भन्दा पनि तलब नपाएको उनले बताइन् ।

‘विराटनगरमा कोठा भाडामा लिएर बसेको छु’ उनले भनिन्, ‘तलब नपाउँदा कोठाभाडा तिर्न र खान नै समस्या भयो ।’ उनले मदरसामा नियुक्ति भएको चार वर्षमा ९० हजार मात्र पाएको उनले बताइन् । अर्का शिक्षक काजल विश्वकर्माको पनि ठाकुरले जस्तै समस्या भोग्नु परेको छ । नियमित काम गरे पनि तलब नपाएको उनले गुनासो राखिन् ।  मदरसामा तीन वर्ष देखि काम गरेर अहिलेसम्म ६० हजार मात्र पाएको उनले बताइन् । मासिक १४ हजार पारिश्रमिक पाउने गरी काम सुरु गरे पनि कहिल्यै पनि पूरा तलब नपाएको उनको भनाइ छ । 

अनुदान बापत आएको रकम मदरसाको खाताबाट बर्खास्त गरिएका व्यवस्थापन समितिका अध्यक्ष हैदर अली र प्रअ मो जाविदले ५ लाख रुपैयाँ झिकेर लगेपछि १२ जना शिक्षकहरूले तलब नपाएका हुन् । व्यवस्थापन समितिको अध्यक्ष  बाट निष्कासन गरिएका अली र जाविदले विद्यालयको खाताबाट अवैधरूपमा रकम निकालेपछि शिक्षकलाई तलब खुवाउन समस्या भएको हो ।

अभिभावकहरूको भेलाले २०७६ साल मङ्सिर १९ गते हैदरलाई व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको थियो । तर, हैदर विद्यालयको कुनै पनि बैठकमा नआउने भएकाले शिक्षा नियमावलीअनुसार अभिभावकहरूको भेलाले उनलाई गतवर्षको माघ २८ गते व्यवस्थापन समितिको अध्यक्षबाट बर्खास्त गरेको थियो ।