पूर्वाञ्चल विश्वविद्यालय (पूवि) र सहरी विकास तथा भवन निर्माण विभागबीच विश्वविद्यालयमा भौतिक पूर्वाधार निर्माणका आयोजनाहरूको कार्यान्वयन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विश्वविद्यालयद्वारा सञ्चालन हुने भवन लगायत अन्य भौतिक पूर्वाधारहरूको निर्माण कार्यमा विभागका तर्फबाट प्राविधिक सहयोगका लागि पूवि र नेपाल सरकारको सहरी विकास मन्त्रालयअन्तर्गतको भवन निर्माण विभागबीच २२ बुद्धे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा यादवराज कोइराला र भवन विभागका तर्फबाट महानिर्देशक इञ्जिनियर नवराज प्याकुरेलले हस्ताक्षर गरेका छन् । त्यस्तै विश्वविद्यालयका तर्फबाट योजना महाशाखा प्रमुख प्राध्यापक संजेशप्रसाद कोइराला र विभागका तर्फबाट भवन महाशाखाका उप–महानिर्देशक इञ्जिनियर दिलिप भण्डारी साक्षीका रूपमा रहेका छन् । 

कार्यक्रममा पूवि प्राध्यापक संघका सभापति डा. सन्देशदास श्रेष्ठ र विश्वविद्यालय प्राविधिक सल्लाहकार इञ्जिनियर पराग कायस्थलगायतको उपस्थिति रहेको थियो ।

समझदारीपत्रमा विश्वविद्यालयद्वारा भवनलगायत भौतिक पूर्वाधारहरूको निर्माणका क्रममा माटो परीक्षण र विस्तृत सर्वेक्षणका साथै नापनक्सा र अवधारणा योजनाको तयारीका लागि विभागका तर्फबाट प्राविधिक सहयोग प्राप्त हुने उल्लेख छ ।

त्यस्तै विभागका तर्फबाट विश्वविद्यालयलाई आर्किटेक्चरल, स्ट्रक्चरल, स्यानिटरी र इलेक्ट्रिकल नापनक्सा सहितको बोलपत्रसम्बन्धी कागजात तयारीका साथै ई–बिडिङका लागि आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउने समझदारी भएको छ ।

त्यसैगरी बोलपत्रको मूल्यांकन, निर्माण कार्यको अनुगमन, सुपरीवेक्षणका साथै भवन तथा भौतिक पूवार्धारको निर्माण कार्यमा विभागका तर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध हुने समझदारीपत्रमा उल्लेख छ । समझदारीपत्रअनुसार विश्वविद्यालय र विभागका दुवै पक्षबाट निर्माणाधीन भौतिक पूर्वाधारहरूको अनुगमन गरी हरेक महिना कार्यप्रगतिको समीक्षासमेत गरिनेछ ।

समझदारीपत्रको कार्यान्वयनका लागि संघीय आयोजना कार्यान्वयन इकाई मोरङलाई जिम्मेवारी तोकिएको छ भने आवश्यकताअनुसार सहरी विकास तथा भवन निर्माण विभागले संस्थागत उत्तरदायित्व बहन गर्नेछ ।