विराटनगर। सुनसरीको दुहबी नगरपालिका–१२ पूर्व कुशाहास्थित शारदा आधारभूत विद्यालयमा रिक्त रहेको एक जना करारका दृष्टिविहीन शिक्षक पदपूर्ति गर्न लिइएको परीक्षामा परीक्षार्थीको नक्कली सहयोगी राखेर उत्तीर्ण गराउन चलखेल भएको छ ।

प्रावि तहको एक करार शिक्षक पदपूर्ति गराउन दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारको दबावमा परीक्षार्थीको नक्कली सहयोगी राखेर पदपूर्ति गराउन चलखेल सुरु गरेको बुझिएको छ । 

विद्यालयले रिक्त रहेको राहत करारको कोटामा एक जना दृष्टिविहीन शिक्षक पदपूर्ति गराउन पुस २९ गते सूचना प्रकाशित गरेको थियो । फागुन १५ गते स्कुलले लिएको पहिलो चरणको वस्तुगतर्फको परीक्षामा ७ जनाले परीक्षा दिए । जसमा दिनेश मण्डल, आशा सुब्बा, सूर्यमाया लिम्बू, मायावती राजवंशी, रञ्जित महतो, धीरेन्द्रकुमार विक र श्रवण महतो थिए ।

उनीहरू सबैले १–१ जना सहयोगी राखेका थिए । पहिलो चरणको परीक्षा दिएका ७ जनामध्ये दिनेश, मायावती र श्रवण गरी तीनजना उत्तीर्ण भए । उत्तीर्ण भएका उनीहरूमध्ये अहिले दिनेशले राखेको सहयोगी विद्यालयले स्वीकृति दिएको नभएर नक्कली ‘राइटर’ भएको खुलेको छ ।

उम्मेदवारले परीक्षामा सहयोगी राख्दा प्लस टु अध्ययन गर्दै गरेको हुनुपर्ने मापदण्ड तय गरिएको छ । तर, दिनेशले राखेका सहयोगी विराटनगरस्थित सृजना ज्ञानकुञ्ज माविमा अध्ययरत कक्षा १२ उत्तीर्ण गरेको खुलेको छ । उक्त विद्यालयले दिनेशको सहयोगीका रूपमा सृजना ज्ञानकुञ्जले कक्षा ११ मा पढ्दै गरेका रामचन्द्र मण्डललाई राख्न सिफारिस गरेको थियो । तर, दिनेशले कक्षा १२ उत्तीर्ण गरेका रविन यादवलाई सहयोगी राखेको पाइएको हो ।

अहिले दोस्रो चरणको १ सय पूर्णाङ्कको फाइनल परीक्षामा दिनेशले राखेका नक्कली सहयोगी रविनलाई सामेल गराउन चलखेल सुरु भएको छ । नक्कली सहयोगी राखेर उत्तीर्ण भएका परीक्षार्थीलाई पनि दुहबी नगरपालिकाका शिक्षा शाखा अधिकृत विकास घिमिरेको दबावमा राख्ने तयारी गरेपछि सोमबार हुने भनिएको दोस्रो चरणको फाइनल परीक्षा स्थगित भएको छ ।

रिक्त रहेको करार शिक्षक पदपूर्ति गर्न लिइने फाइनल परीक्षा अनिश्चितकालको लागि स्थगित गरिएको दुहबी नगरपालिका शिक्षा महाशाखा प्रमुख निलमणि खनालले बताए । करार शिक्षक पदपूर्ति गराउने परीक्षामा विवाद आएपछि तत्कालको लागि स्थगित गरिएको उनले बताए । ‘परीक्षार्थीले राखेको सहयोगी नक्कली भन्ने कुरा बाहिर आएको छ’ उनले भने, ‘यस विषयमा हामीले छानबिन सुरु गरेका छौं । नक्कली सहयोगी राखेको पाइए परीक्षार्थीको उम्मेदवारी खारेज गरी प्रक्रिया अगाडि बढाउनेछौं ।’

दुहबी नगरपालिका शिक्षा शाखा अधिकृत तथा परीक्षा समितिका सदस्य समेत रहेका विकास घिमिरेले आफूले कुनै दबावमा परीक्षा सञ्चालन नगरेको दाबी गरेका छन् । ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परीक्षा केन्द्राध्यक्षसहित पाँच सदस्यीय समितिले परीक्षा लिने हो’ उनले भने, ‘यसमा म एक्लैले केही हुँदैन । परीक्षार्थीले नक्कली सहयोगी राखेको पुष्टि भए कारबाही हुनेछ ।’

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा परीक्षा केन्द्राध्यक्ष दिलिपकुमार मेहताले एक जना परीक्षार्थीको नक्कली सहयोगी फेला पारेकोले छानबिन सुरु गरेको बताए । ‘परीक्षा दिएपछि कागजपत्र हेर्दा अहिले एक जना परीक्षार्थीको नक्कली सहयोगी रहेको खुलेको छ’ उनले भने, ‘अहिले हामी छानबिनको क्रममा छौं ।’ विद्यालयका प्रधानाध्यापक सुरेशकुमार खत्रीले परीक्षा समितिको निर्णयपछि थप प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । 

२०३३ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने गरेको छ । सो विद्यालयमा अहिले २ सय ४० जना विद्यार्थी छन् । चार जना दरबन्दीका र करारका तीन जना शिक्षक रहेका छन् ।