उच्च अदालत विराटनगरले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको नाममा अन्तरिम आदेश गरेको छ । मोरङको रंगेली नगरपालिका– ३ का १८ वर्षीय कविर पन्तलाई आवेदन फारम भर्न दिन अन्तरिम आदेश दिएको हो ।
क्याम्पसले पन्तलाई आवेदन फारम भर्न नदिएपछि उनले फागुन २५ गते महेन्द्र मोरङ क्याम्पसको बीबीए विभाग र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन कार्यालयलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय तेज नारायणसिंह राई र राजनप्रसाद भट्टराईको संयुक्त इजालशले आइतबार विद्यार्थीलाई फारम भर्न दिन अन्तरिम आदेश दिएको हो ।
‘निवेदक चैत ५ गतेसम्म उपस्थित भएमा आवेदन फारम भर्न नरोक्नु, रोक्न नलगाउनु भनी विपक्षीका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ,’ अदालतको आदेश पत्रमा उल्ललेख छ ।
काठमाडौंको शंकरदेव क्याम्पसबाट सिम्याटको प्रवेश परीक्षा उत्तीर्ण गरेका पन्तले महेन्द्र मोरङ क्याम्पसमा बीबीएको आवेदन फारम भर्न खोजेका थिए ।
दुईपटक क्याम्पस पुगेका उनलाई क्याम्पस प्रशासनले अन्य कलेजबाट इन्ट्रान्स दिएकालाई भर्ना गर्न नमिल्ने भन्दै फर्काएको थियो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयको सूचनामा जुनसुकै कलेजबाट इन्ट्रान्स पास गरेका विद्यार्थीले उक्त कोर्ष रहेका जुनसुकै क्याम्पसमा आवेदन फारम भर्न पाउने सूचना जारी गरेको छ ।
प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई फागुन २० गतेदेखि २५ गतेसम्म आवेदन फारम भर्नका लागि सूचना निकालेको थियो । तर, फागुन २३ र २५ गते पुग्ने विद्यार्थीलाई क्याम्पस प्रशासनले फर्काएको थियो ।
सीम्याट पास गरेपछि बीबीए पढाइ हुने जुनसुकै कलेजमा पढ्न पाइने भएकाले उनी घर पायक पर्ने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फारम भर्न २३ फागुनमा पुगे । तर, कलेजले उनलाई फारम दिएको थिएन ।