इटहरी / इटहरीका निजी कलेजका विद्यार्थीहरू कलेजहरूको मनपरी शुल्कविरुद्ध आन्दोलित बनेका छन् ।
नपढेको समयको समेत मासिक शुल्क तिर्न ताकेता गरेको भन्दै विद्यार्थीहरूले सडक अवरुद्धसमेत गरेका हुन् । विद्यार्थीहरूले सडकमा करिब एक घण्टा चक्काजाम गरे ।
इटहरीका नाम चलेका कलेजहरूले पनि कलेज नलागेको समयको शुल्क असुलेको भन्दै शुक्रबार विद्यार्थीहरूले सडकमा चक्काजाममा उत्रिएका हुन् । शुक्रबार इटहरी उपमहानगरपालिकाअगाडि पुगे विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
तर, इटहरी उपमहानगरपालिकाले गेटमा विद्यार्थीहरूलाई रोेकेको थियो । इटहरीमा विगत १ सातादेखि निजी कलेजका विद्यार्थीहरूको आन्दोलित छन् । निजी कलेजहरूले विद्यार्थीहरूमा लुटधन्दा मच्चाइरहेको आन्दोलनमा भेटिएका विद्यार्थी लीला सुवेदी बताउँछिन् ।
इटहरीको कस्तुरी कलेजबाट सुरु भएको आन्दोलन अहिले ३ वटा कलेजमा फैलिएको छ । इटहरीको कस्तुरी, कोसी र विश्व आदर्श कलेजका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । कस्तुरी कलेजकी विद्यार्थी गृष्मा रसाइलीले भनिन्, ‘कलेजले नपढाएको समयको शुल्क मिनाहा गरेन भने अझै आन्दोलन जारी राख्छौं ।’
विद्यार्थीहरूलाई विभिन्न सङ्गठनले साथ दिएका छन् । विद्यार्थीहरूले तालाबन्दी गरेका थिए । जसका कारण भौतिक आक्रमणमै उत्रिएको भन्दै उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ सुनसरीले विज्ञप्ति जारी गर्दै भत्र्सना गरेको छ ।
सङ्घले कर्मचारी तथा कलेजहरूमा तोडफोड गरिने कार्य आपत्तिजनक रहेको जनाएको छ । यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न पनि माग गरिएको छ । यस्तो अवस्थामा शिक्षक, कर्मचारी र विद्यार्थीहरूमा उत्पन्न मनोवैज्ञानिक ज्ञासबाट मुक्त गर्नका लागि इटहरीका सम्पूर्ण कलेजहरू बन्द रहने समेत जनाइएको छ ।
सङ्घका जिल्ला अध्यक्ष मुकुन्द घिमिरे र सचिव सागरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा अर्को सूचना प्रकाशन नभइञ्जेलसम्मका लागि कलेज बन्द गरिएको घोषणा गरिएको छ ।
जनता क्याम्पसका विद्यार्थी पनि आन्दोलित
इटहरीको जनता बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरिएको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् । प्रशासनबाट एकपक्षीय रूपमा सबै विद्यार्थी सङ्गठनहरूसँग छलफल तथा परामर्श नगरी शुल्क वृद्धि गरिएको भन्दै वृद्धि भएको शुल्क अविलम्ब फिर्ता लिन विद्यार्र्थी सङ्गठनहरूको माग छ ।