मोरङको मिक्लाजुङ गाउँपालिका मधुमल्लामा संचालन भएको प्रथम अध्यक्ष कप रनिङ शिल्ड २०७७ वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि माथि वडा नं. ७ ले कब्जा जमाएको छ ।

शनिबार भएको फाइनल खेलमा वडा नं. ४ लाई १–० अन्तरले हराउँदै वडा नं. ७ विजयी भएको हो । शनिबार भएको फाइनल खेल शुरुवातबाट नै दुबै टिमले आक्रमक खेल खेलेका थिए । शुरुवात चरणमै निक्कै आक्रमक खेल खेलेको वडा नं. ७ ले खेल सुरु भएको दोस्रो मिनेटमै वडा नं. ७ का जर्सी नं. २ का सुरेन्द्र थापाले गरेको आकर्षक प्रहारले जाली चुम्यो । 

सुरेन्द्र थापाले दोस्रो मिनेटमा गरेको गोल नै प्रथम अध्यक्ष कप रनिङ शिल्ड २०७७ वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा खेलको निणार्यक गोल बन्यो । 

वडा नं. ७ ले पहिलो गोल गरेसँगै निक्कै आक्रमक रुपमा खेल खेलेको वडा नं. ४ ले केही राम्रा अवसरहरु पाए पनि बलले जाली चुम्न सकेन । शनिबारको फाइनल खेलमा म्यान अफ द म्याच मिक्लाजुङ ७ का जर्सी नं. २ का सुरेन्द्र थापा घोषित भए । 

त्यस्तै प्रतियोगिता अवधिभरको  बेस्ट मिडफिल्डर  वडा नं. ७ का सुरेन्द्र थापा, उत्कृष्ट गोलकिपर वडा नं. ७ का युवराज तामाङ घोषित भए । 

बेस्ट डिफेन्डर वडा नं. ७ का सागर लुइँटेल, बेस्ट फरवार्ड र हाइस्कोरर वडा नं. ४ का मौसम राई भए ।

प्लेयर अफ द टुर्नामेन्ट वडा नं. ४ का  अनिल तामाङ र बेस्ट कोच वडा नं. ७ का नवीन राई घोषित भए ।   

प्रतियोगिताको विजेताले नगद ५१ हजार तथा ६५ तोला चाँदीबाट बनेको ट्रफीमा नाम दर्ता गराएको छ । उपविजेताले ३१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

प्रतियोगितामा मिक्लाजुङ गाउँपालिकाका ९ वटा टिमको सहभागिता थियो ।  

फाइनल खेलको पूर्व सन्ध्यामा मिक्लाजुङ गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण खेल भएको थियो । मैत्रीपूर्ण खेलमा जनप्रतिनिधिले टाइब्रेकरमा जित हात पारे । मैत्रीपूर्ण खेलका विजेताले २५ हजार नगद बराबरको खसी प्राप्त गरे । उक्त  खसीको प्रायोजन काल भैरव एग्रिगेट प्रालि र एस केपीडी कन्ट्रक्सन सञ्चालकद्वय इन्द्र श्रेष्ठ र सविन घिमिरेले गरेका थिए । 

मिक्लाजुङ क्षेत्रमा रहेरका पूर्व फुटबल खेलाडीलाई सम्मान समेत गरिएको खेल व्यवस्थापन समितिका सचिव इन्द्र श्रेष्ठले बताए ।  

शनिबार सम्पन्न फाइनल खेलमा मिक्लाजुङ राजनीतिक दल, संघसंस्था प्रतिनिधिको बाक्लो उपस्थिति थियो । 

कार्यक्रम  जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोख्रेलको प्रमुख आतिथ्यतामा भएको थियो । मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राईको उपस्थितिमा गाउँपालिका  अध्यक्ष देवीप्रसाद आचार्यको अध्यक्षतामा सकिएको थियो ।