नेपाल सरकारले तत्परता नदेखाउँदा कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चीन सरकारले चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित ८ लाख डोज खोप अनुदान दिने घोषणा गरेपनि नेपालकै खर्चमा खोप ल्याउनुपर्ने भएकाले बेइजिङमै थन्किएको हो । यता, खोप अभाव हुँदा नेपालमा कोरोनाविरुद्धको खोप अभियान नै स्थगित गर्नु परेको छ ।

चीन सरकारले पहिलो पटक ३ लाख डोज खोप अनुदान दिने घोषणा गरेपछि परराष्ट्र मन्त्रालयसँगको संवादपछि चीनले पछि थप ५ लाख डोज खोप दिने घोषणा गरेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरी बताउँछन् । तर, चीनले अनुदानमा दिएको खोप आपत्कालीन प्रयोगका लागि खोप ल्याउने भनिए पनि अझै ती खोप बेइजिङको स्टोरमा थन्केर बसेको छ ।

फागुन १६ गते नै चीन सरकारले नेपालका लागि खोप छुट्याइएको भएपनि नेपालले खोप ल्याउनका लागि जहाज पठाउन नसक्दा रोकिएको हो । चीन सरकारले अनुदान सहयोगमा उपलब्ध गराएको ८ लाख डोज खोप ल्याउन सम्बन्धित निकायले समयमै तत्परता नदेखाउँदा आपतकालीन प्रयोगका लागि ढिला भएको हो ।

ढुवानी भाडामै अल्झिएको सरकारले अन्य सामग्रीसँगै खोप ल्याउने भन्दै ढुवानी भाडा सस्तो खोजेर बस्दा ढिलो भएको मन्त्रालय एक अधिकारीले बताए । चीनबाट अनुदानमा दिएको खोप नेपालले आफ्नै खर्चमा ल्याउँदा करिब दुई करोड लाग्छ ।

त्यसैले विश्व स्वास्थ्य सङ्गठनले चीनबाट स्वास्थ्यसम्बन्धी सामग्री खरिद गर्दा त्यही विमानमा अनुदानको खोप ल्याउने आशा राख्दा ढिला भएको हो ती अधिकारीको भनाइ छ । तर, विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सामग्री ल्याउने जहाजमा बेइजिङमा थन्किएको खोप भित्र्याउने सरकारको योजना पनि रद्द भएको छ ।

चिनियाँ खोप भित्र्याउन भइरहेको ढिलाइबारे प्रश्न गर्दा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा प्रमुख डा. तिकंरी चीनबाट अनुदानमा प्राप्त खोप ल्याउन सरकारले गृहकार्य भइरहेको बताउँछन् । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट परराष्ट्र मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार नै पत्र पठाएको उनले सुनाए । नागरिक उड्डयन र परराष्ट्र मन्त्रालयको सहयोगमा चाँडै चीनबाट खोप आउने उनको भनाइ छ ।