धरान । नेपालमा धरानबाटै बास्केटबल सुरु भएको इतिहास भए पनि राष्ट्रिय प्रतियोगिता हुन नसकेको तीतो यथार्थका बीच यस वर्ष भने राष्ट्रिय प्रतियोगिता गराउन लागिएको छ ।
धरान–१७ को होराइजन क्लबले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता गराउन लागेको हो । तर, क्लबले यसलाई ‘पाँचौं राष्ट्रिय होराइजन बास्केटबल कप’ भनी नाम दिएको छ । प्रतियोगिता चैत १४ गतेदेखि १७ गतेसम्म हुनेछ ।
प्रतियोगितामा देशभरिका ८ टिम सहभागी हुँदै छन् । आइतबार पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार प्रदेश १ का पाँच, वाग्मती प्रदेशका दुई र लुम्बिनी प्रदेशका एउटा टिमले प्रतिस्पर्धा गर्दै छ । अध्यक्ष वसन्त राईले भने, ‘प्रदेश १ मा छनौट भएका ५ वटा टिम, काठमाडौंका दुई र रूपन्देही जिल्लाको एउटा टिमले सहभागिता जनाउँदै छ ।’
क्लबले राष्ट्रियस्तरको प्रतियोगितामा एकैपटक ७० हजार रुपैयाँ पुरस्कार राशि वृद्धि गर्दै विजेतालाई एक लाख रुपैयाँसहित ट्रफी प्रदान गर्नेछ । त्यस्तै उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी दिनेछ । यसअघि विजेताले ३० हजार रुपैयाँ पाउँदै आएको थियो ।
धरान–१७ श्रीमाविको बास्केटबल कोर्टमा हुन लागेको प्रतियोगितामा प्रदेश १ बाट छनौट भएका साविक विजेता इमोर्टल क्लब धरान, आयोजक होराइजन क्लब धरान, ब्रदर्श क्लब धरान, युवा जागृति क्लब धरान, र तरहरा बास्केटबल क्लब इटहरी सहभागी हुँदै छन् । त्यस्तै वाग्मती प्रदेशको नेपाल आर्मी र टाइम्स क्लब र लुम्बिनी प्रदेशको रूपन्देही जिल्ला क्लबले प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगितामा व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार र उदयिमान खेलाडीले ५ हजार रुपैयाँ पाउने अध्यक्ष वसन्त राईले बताए । उनका अनुसार खेलकुदसम्बन्धी समाचार लेख्ने एकजना पत्रकार र खेलक्षेत्रमा योगदान दिएका एकजना प्रतिभालाई नगदसहितले सम्मानित गरिने भएको छ । त्यस्तै श्रीमाविलाई दश हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री पनि प्रदान गरिने भएको छ । फाइनल खेल चैत १७ गते हुने भएको छ ।
नेपालमा बास्केटबलको सुरुवात धरानबाट भएको जानकारहरू बताउँछन् । तत्कालीन घोपा क्याम्पमा बस्दै आएका बेलायती नागरिकहरूले यो खेल खेल्ने गर्दथे । सोही खेल हेरेर नेपालीहरूले सिकेका थिए । धरानबाट ब्रिटिस क्याम्प हटेपछि भने यो खेल धरानका नागरिकहरूले खेल्न थालेका हुन् । धरानमा अधिकांश स्कुलमा बास्केटबल कोर्ट रहेको छ ।