विराटनगर। विराटनगर – ३ आयल निगमपूर्व घर भएका ३५ वर्षिय कान्छा भनिने नितेशकुमार राईको मृत्यु नभएर हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग राखेका छन् ।
मतृककी श्रीमती र आफन्तले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् ।
शुक्रबार दिउँसो कान्छाको विराटनगर १९ धनपुरामा शव भेटिएको थियो । शव भेटिएको स्थान राईको घरदेखि करिब दुई किलोमिटर पूर्वमा पर्छ ।
कान्छाको शरिरमा निलडाम, नाक, बङगरा र अनुहारमा चोटपटक पनि देखिएकोले श्रीमान्को मृत्यु नभएर हत्या भएको श्रीमती लक्ष्मी राईको भनाइ छ । ‘साथीको घर जान्छु भनेर बिहीबार बिहान श्रीमान् कान्छा घरदेखि स्कुटल लिएर जानुभएको थियो । शुक्रबार दिउँसो मृत्यु भएको खबर आयो ।

घटनास्थलमा पुग्दा कान्छाको अनुहारमा चोटपटक र शरीरमा निलडाम रहनुले कुटपिट गरेर हत्या गरिएको हुनसक्छ,’ पत्रकार सम्मेलनमा कान्छाकी श्रीमती लक्ष्मीले भनिन्, ‘प्रहरीले प्रशासनले घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्दछ ।’
मृतकका आफन्तले प्रहरीले प्रशासनले घटनाको अनुसन्धान गरि सत्यतथ्य बाहिर नल्याएसम्म मृतकक कान्छाको शव नबुझ्ने बताएका छन् । पोस्टमार्टम गर्न विराटनगरस्थित कोशी अस्पतालमा लगिएको थियो ।
घटनाको सत्यतथ्य प्रहरी प्रशासनले बाहिर नल्याएसम्म शव नबुझने मृतकका आफन्तले अडान कायम गरेको कारणले कान्छाको शव कोशी अस्पतालको शव गृहमा छ ।
यता मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले यस घटनामा प्रहरी गम्भिर रूपमा अनुसन्धनामा जुटेको जानकारी दिए । ‘पोस्टमार्टम गरेपछि भिसरा गर्न प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाएको छ । रिपोर्ट आउन बाँकी छ ।
रिपोट आएपछि घटनाको सबै विषय बाहिर आउँछ,’ एसपी खड्काले भने । प्रहरीका अनुसार यस घटनामा प्रहरीले सबै कोणबाट अनुसन्धान सुरू गरेको छ ।
मृतक राईको घाँटीमा डोरी प्रयोग गरेर पनि आत्महत्या गरेको पनि हुनसक्ने प्रहरीले आशंका गरेको छ । ‘डोरी चुडिएको अवस्थामा भेटिएको छ । डोरी चुड्दा चोटपटक लागेको हुनसक्छ । सबै कोणदेखि हामीले अनुसन्धान सुरू गरेका भएको छौं’ -अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने । मृतक कान्छाका श्रीमती र ५ वर्षका छोरा छन् ।