विराटनगर। उमेश कार्कीको निर्णायक गोलको मद्दतले मोरङको विराटनगरमा जारी पहिलो मिल्स गोल्डकपमा इलेभेन एरोज क्लब दुहबी अन्तिम चारमा प्रवेश गरेको छ । 

सोमबार सम्पन्न खेलमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरलाई १–० गोलले हराउँदै इलेभेन एरोजले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इलेभेन एरोजका प्रल्हाद चौधरीको पासलाई २५ औं मिनेटमा उमेशले गोलमा परिणत गरे । सोही गोल नै निर्णायक बन्यो ।

प्रहरीको लागि दुहबीका गोलरक्षक सुजित चौधरी बाधक बने । खेलको म्यान अफ दी म्याच इलेभेन एरोजका उमेश कार्की घोषित हुँदै नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । इलेभेन एरोजले चैत ११ गते सशस्त्र प्रहरी बल पूर्वाञ्चलसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगितामा मङ्गलबार धरान सिटी फुटबल एकेडेमी सुनसरी र सताक्षीधाम स्पोर्ट्स क्लब झापाबीच हुने आयोजक मिल्स गोल्डकप फुटबल ट्रष्टले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार रुपैयाँ र उपविजेताले नगद ७५ हजार रुपैयाँसहित ट्रफी पाउँनेछ ।