धरान/  पार ७० को धरान गल्फ कोर्षमा स्थानीय प्रोटर्न गल्फर निरज तामाङ र नेपालका नम्बर वान गल्फर भूवन नगरकोटीले समान ३ अण्डर ६७ खेल्दै धरान ओपन गल्फ टुर्नामेण्टको पहिलो दिन शीर्षस्थान कायम गरेका छन् । भूवन सूर्य नेपाल सेण्ट्रल ओपन टुरका विजेता हुन् भने निरज आठौं स्थानमा समेटिएका थिए । 

स्ट्रोक प्लेका आधारमा बुधबारबाट सुरु भएको पहिलो धरान ओपन गल्फ टुर्नामेण्टमा नेपालका नम्बर वान गल्फर भूवन नगरकोटीले फ्रण्ट नाइन पाँच अण्डर ३१ स्ट्रोक खेल्दा ब्याक नाइन २ ओभर ३६ खेले । यता निरजले फ्रण्ट नाइनमा ४ अण्डर ३२ खेल्दा ब्याक नाइन १ ओभर ३५ खेले ।

निरजले चौथो, छैठौं, सातौं, नवौं, बाह्रौं र सोह्रौं होलमा बर्डिज गर्दा तेह्रौं र अठारौं होलमा बुगी खेपे । भूवनले भने दोस्रो, पाँचौं, सातौं, नवौं, र दशौं होलमा बर्डिज गर्न सफल रहे । चौधौं होलमा बुगी खेप्दा सत्रौं होलमा डब्बल बुगी खेपे । स्थानीय गल्फर बलभद्र राई, शुक्रबहादुर राई र जयराम श्रेष्ठ टाइ खेल्दै लेभल पार ७० खेलेका छन् । शुक्रबहादुर सूर्य नेपाल सेण्ट्रल ओपन टुरमा दोस्रो बनेका थिए । 

बलभद्रको फ्रण्ट नाइन लेभल पार ३६ खेल्दा ब्याक नाइनमा पनि लेभल पार ३४ खेले । बलभद्रले पहिलो, चौथो र चौधौं होलमा बुगी खेप्दा तेस्रो, पाँचौं र पन्ध्रौं होलमा बर्डिज गरे । यता शुक्रले फ्रण्ट नाइन एक ओभर ३७ खेल्दा ब्याक नाइनमा १ अण्डर ३३ खेल्दै टाइ गरे । उनले पहिलो, चौथो, नवौं र दशौं होलमा बुगी खेपे भने पाँचौं, छैठौं र एघारौं होलमा बर्डिज गर्दै लेभल पार खेले ।

प्रो. जयरामले फ्रण्ट नाइनमा २ ओभर ३८ स्ट्रोक गर्दा ब्याक नाइनमा २ अण्डर ३२ खेल्दै टाइ गर्न सफल रहे । उनले पहिलो, दोस्रो, तेस्रो, नवौं, तेस्रो र अठारौं होलमा बर्डिज गरे । चौथो, पाँचौं, छैठौं, आठौं, र एघारौं होलमा बुगी खेपे । यता सातौं होलमा भने डब्बल बुगी खेपेका थिए । 

व्यावसायिक गल्फर सूर्यप्रसाद शर्माले १ ओभर ७१ स्ट्रोक गरे । उनको फ्रण्ट नाइनमा एक अण्डर ३५ खेल्दा ब्याक नाइन २ ओभर ३६ खेले । प्रो. सञ्जय लामा, दीपक आचार्य, कृष्णमान राजबाहक र एमेच्योर युवराज भुजेल टाइ गर्दै चौथो स्थानमा समेटिएका छन् । उनीहरूले २ ओभर ७२ स्ट्रोक खेले ।

प्रो. रवि खड्का र दिनेश प्रजापतिले ३ ओभर ७३ खेले । एमेच्योरतर्फ राजकुमार राईले ५ ओभर ७५ खेल्दै दोस्रो बन्दा धरान गल्फ क्लबका सचिव एमेच्योर जितेन्द्र राईले ६ ओभर ७६ खेलेका छन् । कुल ४३ गल्फरहरूमध्ये ११ एमेच्योर र ३२ प्रोफेसनल गल्फरहरूले प्रतिस्पर्धा गरिरहेको आयोजक नेपाल गल्फ एसोसिएसन र धरान गल्फ क्लबले जनाएको छ । 

३६ होलको समाप्तिमा कटब्याकका आधारमा २१ जना प्रो. र ६ जना एमेच्योर ५४ होलका लागि भिडन्त गर्नेछन् । शनिबार प्रो–एमबीच खेल हुनेछ । प्रतियोगितालाई धरान उपमहानगरपालिकाले सहयोग गरेको छ भने प्रायोजनका रूपमा द हिमालयन रिजर्भ, आरसी कोला र म्याजिक फुटवेयर रहेका छन् ।

यसलाई सूर्य नेपाल इष्टर्न टुरको रूपमा लिइएको छ । कुल ५ लाख रुपैयाँ पुरस्कार राशिको प्रतियोगितामा विजेताले ९० हजार रुपैयाँ र अन्यले स्कोर कार्डका आधारमा रकम पाउनेछन् ।