संक्रमण बढ्दै गएपछि भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो ।
भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुन सक्ने भन्दै निर्यातमा रोक लगाइएको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र बीबीसीले उल्लेख गरेका छन् ।
आगामी साता भारतमै खोपको माग बढ्ने भएकाले तत्काललाई निर्यात रोकिएको विदेश मन्त्रालयले जनाएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गर्छ ।
कोभ्याक्सले अहिलेसम्म एसआईआईबाट १ करोड ७७ लाख डोज कोरोना खोप प्राप्त गरेको छ । भारतले अहिलेसम्म विभिन्न ७६ देशमा ६ करोड ५० लाख डोज खोप निर्यात गरिसकेको छ । कोभ्याक्स परियोजनाअन्तर्गत नेपालले पनि ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ ।