भण्टाबारी । पछिल्लो समय गाँजा तस्करीको ‘ट्राञ्जिट पोइण्ट’ कोशी नदीको किनारैकिनार हुने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
पहाडी जिल्लाबाट भिœयाइएका गाँजा रातको समयमा सीमावर्ती क्षेत्र हुँदै भारततर्फ लगिने गरेको छ । माघ २२ गते मध्यरातमा को.१ च ९८५२ नम्बरको स्कारपियोबाट सुनसरी प्रहरीले दुईसय ५० केजी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।
सुनसरी प्रहरी स्रोतका अनुसार कोशी नदीको फाइदा उठाउँदै धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लाबाट भारततर्फ गाँजा तस्करी हुने गरेको छ । कोशी नदीमा चल्ने डुङ्गा र बाँस कारोबार गर्नेहरूले पहाडी जिल्लाबाट सुनसरीमा गाँजा भिœयाउने र सुनसरी हुँदै गाँजा भारततर्फ तस्करी गर्ने गरिएको स
स्रोत बताउँछ । पछिल्लो समय गाँजा तस्करी गर्ने ‘ट्राञ्जिट पोइण्ट’ कोशी नदी बनेको स्रोतको दाबी छ ।

सुनसरी प्रहरीलाई चुनौती थपिँदै
नेपाल–भारत खुल्ला सीमाका कारण लागूऔषध र गाँजा कारोबारले सुनसरी प्रहरीलाई सुरक्षा चुनौती थपिँदै गएको छ । भारतसँगको खुल्ला सीमाको फाइदा उठाएर लागूऔषध र गाँजाको कारोबार बढ्दै गएकोले यस्ता कारोबार रोक्न सुनसरी प्रहरीलाई चुनौती थपिएको हो ।
ठूलो परिमाणमा लागूऔषध र गाँजाको कारोबारी पक्राउ पर्न थालेपछि सुनसरीमा खुल्ला सीमाको फाइदा उठाएर यस्ता कारोबार भइरहेको पाइएको हो । खासगरी सुनसरीको सीमावर्ती क्षेत्रहरूमा लागूऔषधको कारोबार बढेको पाइन्छ ।
सुनसरीको सीमावर्ती क्षेत्र लौकही, भण्टाबारी, घुस्की, कप्तानगञ्ज, लाही, श्रीपुरसहितका नाका प्रयोग गरी दिनहुँ दर्जनौं नेपाली युवाहरू भारतीय बजारहरूमा गएर लागू औषधको सेवन गर्ने र लागूऔषधको कारोबार गर्ने गरेका छन् ।
नेपाली युवाहरू भारतको भीमनगर, वीरपुर, फुलकहालगायतका बजारमा गएर दिनहुँ लागूऔषध सेवन गर्ने र चेकजाँचमा पक्राउ पर्नेहरूलाई एसएसबीले नियन्त्रणमा लिई घण्टौंपछि मात्र छाड्ने गरेको छ् ।
सुनसरीको सीमावर्ती क्षेत्रहरूमा पछिल्लो समयमा प्रहरीले चेकजाँचमा कडाइ गरेपछि भने खुल्ला सीमाको फाइदा उठाएर लागूऔषध र गाँजाको कारोबार गर्ने कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन् । सुनसरी प्रहरीले दिएको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म जिल्लाको विभिन्न स्थानबाट तीनसय केजीबढी गाँजा बरामद भएको छ भने २२ मुद्दामा २७ जना व्यक्ति पक्राउ परेका छन् ।
जबकि अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा चारसय केजी ५ सय ४० ग्राम गाँजा बरामद भएको थियो भने १५ वटा मुद्दामा २० जना व्यक्ति पक्राउ परेका थिए ।
यता सुनसरी प्रहरीका प्रमुख एसपी कमल थापाले लागूऔषध र गाँजा कारोबार रोक्नका लागि सक्रिय भएर लागेको बताउँछन् । खुल्ला सीमाको फाइदा उठाएर गैरकानूनी रूपमा लागूऔषध कारोबार गरिए पनि यस्ता कारोबार रोक्न नेपाल प्रहरी लागिपरेको उनको भनाइ छ ।