सिरहा / सिरहा प्रहरीले हत्या गरी फिरौती माग्ने दुई आरोपीलाई तीन दिनकै अवधिमा पक्राउ गरेको छ । 

मिर्चैया नगरपालिका–७ लिकटोलका २४ वर्षीय शिवकुमार यादवको हत्या आरोपमा उनकै ठूलो बुबाको छोरा २७ वर्षीय विष्णु यादव र उनका जेठान मिर्चैया–९ सुन्दरपुरका २४ वर्षीय इन्द्रदेव सिंह यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

२ वर्षअघि लागूऔषध मुद्दामा जेलमा रहेको बेला शिवकुमारको परिवारले विष्णुको परिवारसँग विवाद गरेपछि सोही विवादको रिसिइवी साध्नका लागि हत्या गरेको प्रहरीमा स्वीकार गरे । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठका अनुसार विष्णुले परिवारसँगको विवादको घटनालाई लिएर हत्या गरेको स्वीकार गरेको बताए ।

चैत ७ गते राति पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मिर्चैया–१ रामपुर बिर्ताखण्डमा शिवकुमारको हत्या गरेका थिए । 

हत्यापछि आइतबार बिहान फिरौतीका लागि ९८१७७९८१६० नम्बरको मोबाइलबाट मृतकको परिवारलाई फोन गरेर रकम माग गरेका थिए । रकम माग गर्न प्रयोग भएको नम्बर र अन्य मोबाइल नम्बरहरूको सीडीआर विश्लेषण र घटनास्थलमा सक्रिय मोबाइल नम्बरहरूको बीटीएस विश्लेषणको आधारमा उनीहरूलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । 

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा ८० जनासँग सोधपुछ गरेको थियो । प्रहरीले ७२ घण्टापछि हत्यामा संलग्न ज्वाइँ जेठानलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न रहेको विष्णुको स. ८ प ४०६५ नम्बरको मोटरसाइकल, मृतकको मोबाइल, फिरौती माग्न प्रयोग भएको मोबाइल र सिमकार्डसमेत बरामद गरेको छ ।