विजयपुर। भानुस्मृति माध्यमिक विद्यालयको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ ।
उत्सवको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको थियो । ज्ञानमाया अधिकारी स्मृति गरिब तथा जेहेन्दार पुरस्कार १ हजार नगद ३ जना छात्राहरूले प्राप्त गरेका थिए ।
छात्राहरू अञ्जना परियार, निसा बराइली र एञ्जल कट्टेल रहेका छन् । उक्त पुरस्कार रामबहादुर अधिकारीले आफ्नी धर्मपत्नी ज्ञानमाया अधिकारीको नाममा स्थापना गरेका हुन् ।
त्यस्तै नैनकला न्यौपानेले आफ्ना श्रीमान् पदमप्रसाद न्यौपानेको नाममा स्थापित पदमप्रसाद स्मृति गरिब तथा जेहेन्दार छात्रवृत्ति ३ जनाले नै प्राप्त गरेका थिए । उक्त पुरस्कारमा विजय तामाङले १५ सय नगद प्राप्त गरेका थिए भने सुहाना खातुन र नन्दनी दाशले १ हजार नगद छात्रवृत्ति पाएका थिए ।
कैलाश–पर्वतमान श्रेष्ठ स्मृति गरिब तथा जेहेन्दार छात्रवृत्ति १२ जना विद्यार्थीले पाएका छन् । उक्त छात्रवृत्तिमा १२ जना विद्यार्थीलाई जुत्ता र विद्यालयलाई २४ हजार बराबरको १ थान स्मार्ट टिभी उपलब्ध गराएका थिए । मणिमान नन्दलक्ष्मी श्रेष्ठ गरिब तथा जेहेन्दार छात्रवृत्ति नुमा नेपाली र तमासुन प्रविनले नगद ७ सय पाएका थिए ।
विद्यालयको वार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न विधाका खेलका विजेता तथा उपविजेतालाई पुरस्कार वितरण पनि गरिएको थियो । शिशु कक्षादेखि कक्षा १० सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई शैक्षिक सामग्री पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय भवरलाल सोनीका छोरा श्यामकुमार सोनीले २५ जना विद्यार्थीलाई प्रतिगोटा ७ सय बराबरको झोला वितरण गरेका थिए । साथै नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति पनि वितरण गरिएको थियो ।
उत्सवको अवसरमा तीर्थराज राईले गरिब तथा जेहेन्दार छात्रवृत्तिका लागि ५१ हजार रुपैयाँको अक्षय कोष पनि स्थापना गरे । शिक्षक तथा कर्मचारीलाई प्रोत्साहन पुरस्कार पनि वितरण गरिएको थियो । पुरस्कृत हुने शिक्षक वीरबहादुर राई रहेका छन् भने कर्मचारी चन्द्रमाया भट्टराई र लोकबहादुर खत्री रहेका छन् । उनीहरूलाई जनही नगद २१ सय परस्कार दिएको हो ।
कायक्रम शिक्षा महाशाखा प्रमुख रत्न कट्वाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नैनकला न्यौपाने वडा नं. ३ का अध्यक्ष आशाकुमार श्रेष्ठ, शान्ता अधिकारीको उपस्थिति रहेको प्रधानाध्यापक रविन्द्र सुवेदीले जानकारी दिए ।