इटहरी।  पुरानो रिसइबी साध्न इटहरीमा एक पुरुषले झिरले रोपेर आफ्नै छिमेकीको हत्या गरेका छन् । 

सोमबार होलीको दिन मादक पदार्थले लठ्ठ भएका इटहरी–२ शान्तिझोडा बेलगाछी टोलका जीवनाथ रेग्मीले छिमेकी ४५ वर्षीय केशव कार्कीको हत्या गरेका हुन् । आफ्नै घरमा सुतेका कार्कीको हत्या भएको थियो । कार्कीसँग केही समयदेखि झगडा भएको र रिस फेर्न होलीको दिन मापसे गरेका रेग्मीले हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । 

सुतेकै ठाउँमा कार्कीको हत्या गरी भाग्दै गरेको अवस्थामा रेग्मीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।  कार्कीमाथि सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले बताए । ‘छिमेकीको हत्या गरी भाग्दै गर्दा रेग्मीलाई एक घण्टाभित्रै पक्राउ गरेका छांै’ –डिएसपी केसीले भने । पुरानो रिसइबी साध्न रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

रेग्मी मादक पदार्थ सेवन गरेर लठ्ठ भएका कारण थप अनुसन्धान हुन नसकेको डिएसपी केसीले बताए । ‘कार्कीसँग रेग्मीको लामो समयदेखि रिसइबी रहेछ, त्यो इबी साध्न उनले मादक पदार्थ सेवन गरी हत्या गरेका रहेछन्’ डिएसपी केसीले भने, ‘हामी थप अनुसन्धान गर्दैछौं, भोलिसम्ममा सबै थाहा हुनेछ ।’ केसीका अनुसार छिमेकीको हत्या गरेर रेग्मी भागेका थिए । हत्या भएसँगै प्रहरीले इटहरी क्षेत्रमा प्रहरी हाईअर्लट गरेको प्रहरीले जनाएको छ । 

होलीमा दिनभर तनाव

इटहरीमा सोमबार साना–साना समूहहरू होली खेलिरहेका थिए । एक्कासि शान्तिनगरमा केशव कार्कीको हत्या भएको खबरले इटहरी–२ मा दिनभर तनाव भयो ।

स्थानीयहरू दिनभर त्रसित बने भने प्रहरीले सुरक्षा व्यवस्था मिलाएको थियो । कार्कीको हत्यासँगै इटहरीमा दिनभर सुरक्षा व्यवस्था कडा बनाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।