परीक्षा आइरहेको समयमा विद्यालय बन्द गर्न नहुने शैक्षिक क्षेत्रका सरोकारवालाहरुले सुझाव दिएका छन् ।
नयाँ प्रजातिको कोरोनाभाइरसको जोखिम बालबालिका र युवामा देखिन थालेपछि संक्रमण बढेका ठाउँमा शिक्षण संस्था बन्द गर्ने छलफल चलिरहेका बेला सरोकारवालाले स्थानीय तहले अवस्था हेरेर गर्न सक्ने बताए ।
शिक्षा मन्त्रालयले आज बिहान आयोजित छलफलमा सहभागी नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले स्थानीय तहहरुले त्यहाँको अवस्था हेरेर गर्न सक्ने सुझाव दिए ।
छलफलमा सहभागी परीक्षण बोर्डका अध्यक्ष डा.चन्द्रमणी पौडेल, प्याव्सन र एनप्याव्सनका पदाधिकारी तथा अभिभावक संघका पदाधिकारीले विद्यालय बन्द नगर्न सुझाव दिए ।
छलफलमा उठेका कुराहरुलाई सीसीएमसी हुँदै मन्त्रिपरिषद बैठकसम्म लैजाने शिक्षा सचिव रामप्रसाद थपलियाले बताए ।
सीसीएमसीले काठमाडौं लगायत संक्रमण बढेका शहरी क्षेत्रमा कम्तिमा ३ साता शिक्षण संस्था बन्द गर्न प्रस्ताव लगेको छ ।