विराटनगरस्थित न्यूरो सर्जरी सेवा सुरू भएपछि मोरङको रंगेलीका एक जना किशोरको टाउको पछाडि रहेको दुई केजीको नशाको ट्युमरको सफल शल्यक्रिया भएको छ ।
कोशी अस्पतालका न्यूरो सर्जन डा. रोशन खतिवडाको टिमले रंगेली नगरपालिका २ बबियाविर्ताका १८ वर्षीय रघुनाथ मुडियारी (झागड) को टाउकोको पछाडि रहेको ट्युमरको सफल शल्यक्रिया गरेका हुन् ।
उपचारको लागि वर्षौदेखि विभिन्न अस्पतालमा भौंतारिएका उनी एक साता अगाडि कोशी अस्पतालमा आएको डा. खतिवडाले जानकारी दिए । डा. खतिवडाको टिमले दुई घन्टा लगाएर उक्त ट्युमरको सफल शल्यक्रिया गरेको बताए ।
शल्यक्रियापछि बिरामीको अवस्था अहिले स्थिर रहेको न्यूरो सर्जन डा. खतिवडाले जानकारी दिए ।

‘शल्यक्रियापछि दुईदिन आईसीयूमा राखेर उपचार गरेका थियौं’, उनले भने, ‘अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर रहेकाले सामान्य वार्डमा सारेका छौं ।’
बिरामीको स्वास्थ्य सुधार हुँदै गएकोले मंगलबार डिस्र्चाज गर्ने तयारी गरेको उनले बताए ।
नशाको ट्यमुरलाई मेडिकल भाषामा ‘फाइब्रोम्याटोसीस टाइप वान’ भन्ने गरिन्छ । ३ हजार जनामा एक जनालाई यस्तो रोग देखा पर्ने न्यूरो सर्जन डा. खतिवडाले बताए । ‘कतिपयलाई वंशाणुगत पनि यस्ता रोगहरू देखा पर्ने गरेको छ,’ डा. खतिवडाले भने, ‘यसको बेलैमा उपचार गर्दा ठीक हुन्छ ।’
उपचारपछि अस्पतालको जनरल वार्डमा रहेका रघुनाथले नयाँ जीवन पाएको अनुभूति भएको बताए ।
कोशीमा छुट्टै न्यूरो सर्जरी डिपार्ट बनाउने तयारी
कोशी अस्पतालमा दुई महिना अगाडि न्यूरो सर्जरी सेवा सुरू भएको हो । न्यूरो सर्जरी सेवा सुरू भएपछि जटिल प्रकारको शल्यक्रिया गरिएको यो पहिलो पटक रहेको अस्पताल प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
डा. दासका अनुसार कोशी अस्पतालमा छुट्टै न्यूरो सर्जरी डिपार्टको रुपमा विस्तार गर्ने योजना रहेको छ । न्यूरो सर्जरी सेवा सुरु भएपछि ओपीडिमा दैनिक २० देखि ३० जना बिरामी आउने गरेका छन् । प्रदेश १ मा सरकारी स्तरमा न्यूरो सर्जरी सेवा सुरू भएको कोशी अस्पताल पहिलो हो ।
यहाँ न्यूरो सर्जर डा. रोशन खतिवडाको टिमले उपचार गर्दै आएको छ ।