हुकुमप्रमाङ्गीबाट हाकिम भएकाहरुको बडाहाकिमी प्रवृत्तिमा परिवर्तन नहुञ्जेल देशले विकास गर्न नसक्ने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का संयोजक ऐन महरले बताएका छन् । 

कर्मचारीमा हाबी रहेको सोच र चरित्रमा परिवर्तन गर्न अहिलेका सञ्चार, प्रविधि बुझेका विद्यार्थी त्यहाँ पुग्न आवश्यक रहेको संयोजक महरले बताए । 

महेन्द्र क्याम्पसमा अनेरास्ववियु धरान उपमहानगर कमिटीले आयोजना गरेको ७ दिने खरिदार, नासु, अधिकृतको आधारभूत लोकसेवा कक्षाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै महरले कर्मचारीले आफूलाई बडाहाकिम ठानेर कुर्सीमा खुट्टा हल्लाएर बस्ने प्रवृत्तिले जनतालाई राज्य र सरकारप्रति वितृष्णा जगाइरहेको बताए । त्यस्ता प्रवृत्तिलाई परिवर्तन गर्न प्रविधिसँग साक्षात्कार, कर्मचारीहरुको काम बुझेको, प्रशासकमा सेवाभाव हुनुपर्छ भन्ने चिन्तन बोकेको, विद्यार्थी राज्यसंयन्त्र र प्रशासनमा पुग्नुपर्ने जिकिर गरे । 

अनेरास्ववियु धरान उपमहानगर कमिटीद्वारा आयोजित लोकसेवा तयारी कक्षा समापनको औपचारिक कार्यक्रममा अनेरास्ववियुका संयोजक महरको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथि विद्यार्थी नेतृ सुनिता बराल थिइन् । कार्यक्रममा भास्कर खनाल, मनोज ताम्ली, अन्जु पाण्डे, निरोज आचार्य, सुदेश चापागाईं, जिबी गजललगायतका विद्यार्थी नेताहरुको उपस्थिति थियो ।

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी नेता महरले भने– 

जनताप्रति उत्तरदायी बन्दै सरकारले प्रवाह गर्ने सेवा चुस्तदुरुस्त जनतामा पुर्याउनु कर्मचारीको मूल काम हो । जनतालाई सेवा प्रवाह गर्ने र राज्यको महसुस गराउने काम कर्मचारीको हो । तर, छिटो–छरितो निस्वार्थ, सेवाभावले जनतालाई सेवा–प्रवाह गर्ने कामबाट हाकिमी प्रवृत्तिका कर्मचारी विमुख छन् । तिनीहरुले आफूलाई बडाहाकिम सोच्छन् । हाम्रो काम त कुर्सीमा बस्ने खुट्टो हल्लाएर खाने हो, कोही आउन् नआउन्, जनताको कुनै पनि मतलब छैन भन्ने खालको प्रवृत्ति उनीहरुमा छ ।

यसले राज्यलाई ‘फेलियर’ बनाउने काम गरेको छ । जनतालाई राज्य र सरकार प्रति वितृष्णा जगाउने काम गरेको छ । त्यो प्रवृत्तिलाई ‘चेन्ज’ गर्ने काम तपाईं हामी जस्ता फ्रेस मान्छेहरुको हो । टेक्नोलोजीसँग अपडेट भएका मूलतः कर्मचारीहरुको काम बुझेका, सेवाभावले कर्मचारी बन्नुपर्छ भन्ने भावना र चिन्तन बोकेका मान्छे आज राज्य संयन्त्रमा, प्रशासकका रुपमा, कर्मचारीका रुपमा जान जरुरी छ । जुन काम तपाईंहरु (अनेरास्ववियु) ले गरिरहनु भएको छ । 

दोस्रो कुरा, अहिलेका कर्मचारीहरु सेवा गर्ने भन्दा पनि (तपाईंहरुले देखिरहनु भएको होला ) भ्रष्टाचार गर्न पुग्छन् । भ्रष्टाचारको विषय अधिकांश कर्मचारीहरुबाट हुने गर्छ । त्यो राजनीतिक नेताहरुलाई त थाहै हुँदैन । कर्मचारीहरुले सिकाउने हो । 

कम्तिमा नयाँ मान्छे, फ्रेस मान्छेहरु राष्ट्रप्रति, समाजप्रति, जिम्मेवार भएको, सेवाभावका साथ प्रशासक बन्न चाहाने मान्छे त्यहाँ पुग्दा भ्रष्टाचार न्यूनीकरण हुन्छ । 

यी अहिलेका कर्मचारीहरु नयाँ टेक्नोलोजीसँग अपडेटेड नै छैनन् । भुत्ते भइसकेका छन् । हेर्दा चाहिं नवौं, दशौ तहका कर्मचारी छन्, सामान्य कम्प्युटर चलाउन जान्दैन । 

अहिलेको कर्मचारी संयन्त्र प्रविधिमैत्री छैन । ज्ञान छैन । सेवाभावको मानसिकता छैन । बडाहाकिमी प्रवृत्ति छ । यस्तो अवस्थामा जस्तो सुकै गणतन्त्र आए पनि यो कर्मचारीको मानसिकता, यसको संरचना परिवर्तन नल्याईकन हामीले देशको विकास गर्न सक्दैनौं । त्यसकारण तपाईं हामी जस्ता सेवाभाव भएका, प्रविधिसँग अपडेटेड, ज्ञान भएका, भ्रष्टाचारलाई घृणा गर्ने मान्छे प्रशासनमा आउनु पर्छ । 

यी अहिलेका प्रशासकको जमानामा त भ्रष्टाचार गर्नु सामाजिक प्रतिष्ठा जस्तो हुन्थ्यो । तपाईंहरुले देख्नु भएको होला, एउटा भन्सारको कार्यालय सहयोगीले पनि धरान, इटहरीजस्ता ठाउँमा चारपाँच तले घर बनाउँछ । यो समाजमा उसको चाहिं मान, प्रतिष्ठा हुन्थ्यो । 

तर, अहिलेको पुस्ता भ्रष्टाचारीहरुलाई घृणा गर्छ । भ्रष्टाचारीलाई घृणा गर्ने प्रवृत्ति र मानसिकता भएका युवाहरु कर्मचारी प्रशासनमा प्रवेश गर्न जरुरी छ । जुन तपाईंहरुले गर्दै हुनुहुन्छ । 

अहिलेका विद्यमान प्रवृत्तिहरुले राज्य संयन्त्रलाई नै कमजोर बनाइरहेका छन्, राज्यप्रति युवाहरुको वितृष्णा बढाइरहेका छन् । यो सरकार युवाहरुको लागि होइन भन्ने मनोविज्ञान सिर्जना गरिरहेका छन् । यसको अन्त्य गर्न अनेरास्ववियुले नयाँनयाँ साथीहरुलाई (भर्खरै कक्षा १२ पास गरेका बिए पढ्दै गरेका साथीहरुलाई) प्रशासनमा पहुँच पुर्याउने गरी (लोक सेवा कक्षा) सञ्चालन गर्नु सह्रानीय छ । 

‘प्लसटु’ र ‘ब्याच्लर’ सकेका विद्यार्थीहरुमा विदेश जाने चिन्तन छ । त्यसलाई त्यागेर अब हामीले यो राज्यको प्रशासनिक संयन्त्रमा ‘इन्टरफेयर’ गर्नुपर्छ । त्यसकारण हामीले लोकसेवा पढ्नुपर्छ । राज्यलाई ठीक ढंगले अगाडि बढाउनुपर्छ । जनतालाई सहज सेवा प्रवाह गर्नुपर्छ । देशलाई विकास र परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यका साथ अनेरास्ववियुले गरेको यो अभियानमा सहभागी सम्पूर्ण  विद्यार्थी साथीहरुलाई शुभकामना व्यक्त गर्छु । 

यो पुस्ता र पङ्क्तिले दृढतापूर्वक चाह्यो भने सफल हुन सक्छ । म विश्वास व्यक्त गर्छु । यो राज्यको महत्वपूर्ण प्रशासकको जिम्मेवारी यहाँहरुले प्राप्त गर्नुहुनेछ ।

20210416_150419

20210416_145858

20210416_145434_mfnr

20210416_145938

20210416_145945

20210416_151304