मृत्यु भइसकेका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । गिरोहका १० जनालाई प्रहरीले नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ ।
१ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह आरआइटी, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाको पर्दाफास गर्दै घटनामा संलग्न रहेका मध्ये १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
झापा बिर्तामोडका स्वर्गीय टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उद्देश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्न गिरोह नै सक्रिय रहेको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा झापा बाह्रदशी ३ का ३९ वर्षीय मंगलसिंह राजवंशी, झापा भद्रपुर ७ का ५२ वर्षीय नवीन कोइराला, झापा बाह्रदशी ५ का ५० वर्षीय लीलाधर राजवंशी, झापा गौरीगंज १ का ३७ वर्षीय बलराम विश्वकर्मा, झापा शिवसताक्षी ८ का ४२ वर्षीय भूपदेव कटुवाल रहेका छन् । यसै गरी झापा अर्जुनधारा ५ का ५३ वर्षीय लेखनाथ खनाल, झापा बिर्तामोड ४ का ३४ वर्षीय गोविन्द वान्तवा, बिर्तामोड १० का ७१ वर्षीय देवीप्रसाद पाण्डे, बिर्तामोड ४ की ३३ वर्षीया रञ्जु राई र मोरङ उर्लाबारी ४ का ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।

गिरोहले झापा बिर्तामोड १ स्थित अदुवा पुलबाट १०० मिटर पश्चिममा पूर्व–पश्चिम राजमार्गमा जोडिएको स्वर्गीय टुंगबहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो गिरोहले उक्त जग्गा ठगी गर्नका लागि पक्राउ परेका मध्ये देवीप्रसाद पाण्डेलाई नक्कली टुंगबहादुर बस्नेत खडा गरी नक्कली नागरिकता समेत बनाई दिएका थिए । ०७७ असोज २८ गते काठमाडौं जिल्ला अदालतबाट झापा बाह्रदशी ३ घर भई हाल बिर्तामोड २ चैतुबारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएको र उक्त वारेशनामामार्फत् झापा बिर्तामोड ४ की रञ्जु राईको नाममा ०७७ माघ २१ गते राजिनामा पास गरेका थिए ।
घटनाका बारेमा इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परेपछि १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह आरआइटी, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाको पर्दाफास गरेको थियो ।
ठगी धन्दामा अन्य सम्बन्धित निकायका प्रतिनिधिको समेतको संलग्नता तथा पहिचान भइसकेको प्रहरीको भनाइ छ । उनीहरु फरार रहेकाले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका उपर ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।